बिहीबार, वैशाख १३, २०८१

अन्ततः ट्रम्पको मुखमा मास्क, पत्रकारको नजरबाट भने लुकाए

नेपालखोज २०७७ जेठ ९ गते १४:२२

काठमाडौँ । आफूले मास्क नलगाउने भन्दै अड्डी कस्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः मास्क लगाउन बाध्य भएका छन् ।

बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमण गर्न पुगेका ट्रम्पले केहीबेर मास्क लगाएका हुन् । तर उनी पत्रकारसमक्ष भने मास्क लगाएका अवस्थामा उपस्थित भएनन् ।

मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा उनी निरीक्षणका लागि गएका हुन् । मोटर उत्पादक कम्पनी फोर्डले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ ।

ट्रम्पले सो भ्रमणको क्रममा केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । मास्क नलगाउने पक्षमा रहिरहेका ट्रम्पले बिहीबार भने बाध्य भएर केहीबेर मास्क लगाएको जनाइएको छ ।

फोर्डले आफ्ना प्लान्टमा जान मास्क अनिवार्य गरेको नियम ट्रम्पले पालना गरेका हुन् । फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको बताएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन वा संक्रमण फैलिन नदिन मास्क लगाउनु पर्ने विज्ञहरुले बताइरहेपनि ट्रम्पले लगातार अस्वीकार गर्दै आएका छन् । केहीबेर लगाएको मास्क फुकाल्दै पत्रकारहरुलाई आफूले मास्क लगाएको देखाउन नचाहेको ट्रम्पले बताएका छन् ।

— एजेन्सी

प्रतिक्रिया