एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र

लण्डन । यौन दुव्र्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानूनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुव्र्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ ।
बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरले बताएका हुन् ।
उहाँका अनुसार मानिसहरूलाई बच्चाहरूलाई यौन दुव्र्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ।
गृहमन्त्री कूपरले आइतबार स्काई न्यूजसँग भने, ‘अनलाइन बाल यौन दुव्र्यवहार सामग्री बढ्दो छ । किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ।’
उनले भने, ‘एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुव्र्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।’
‘यो सबैभन्दा घृणित अपराध हो,’ उनले भने । ‘नयाँ कानूनले ‘बाल दुव्र्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,’ कूपरले भने ।
‘अन्य देशहरूले अझै यो (कानुन बनाउने काम) गरिरहेका छैनन्, तर मेरो विचारमा अरू सबैले यसलाई पछ्याउनेछन्,’ उनले भने ।
एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ ।
नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूको लागि डिजाइन गरिएको वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ ।
कुपरले आइतबार बीबीसीसँग भने, ‘हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुव्र्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ । यी उपायहरूलाई संसदमा ‘क्राइम एण्ड पोलिसिङ बिल’को एक भागको रूपमा प्रस्तुत गरिनेछ ।
इन्टरनेट वाच फाउन्डेसन ९आईडब्लुएफ० ले यौन दुव्र्यवहारका घटनामा बालबालिकाको एआई तस्बिर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ ।
सन् २०२४ मा ३० दिनको अवधिमा आईडब्ल्यूएफका विश्लेषकहरूले एउटै डार्क वेब साइटमा तीन हजार ५१२ एआई बाल दुव्र्यवहार छविहरू पहिचान गरेका थिए । सबैभन्दा गम्भीर श्रेणीका तस्बिरको सङ्ख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ । रासस/एएफपी

प्रतिक्रिया