शुक्रबार, वैशाख ७, २०८१

पूर्वराज्यमन्त्रीको निधनप्रति दुःख व्यक्त

नेपालखोज २०७७ जेठ ९ गते १८:०२

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे । स्व चौधरीले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताए ।

स्व चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए । विसं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री भएका थिए। स्व चौधरीले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेको काँग्रेसले जनाएको छ । पार्टीका विभिन्न पदमा रहेर स्व चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया