बुधबार, वैशाख १२, २०८१

भारतबाट आएकाको पिसीआर परीक्षण गरिँदै

नेपालखोज २०७७ जेठ ९ गते १८:०४

तनहुँ । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

बुधबार व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअगाडि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।

प्रतिक्रिया