कोरोना संक्रमित देखिएपछि कैलालीमा लकडाउनमा थप कडाइ, संक्रमित देखिएको गाउँ सिल
कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो ।
जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ । टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । सङ्क्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नं ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले जानकारी दिए ।
सङ्क्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए । “सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ”, प्रहरी नायब उपरीक्षक भट्ट भन्नुहुन्छ, “प्रहरी र स्वास्थ्यकर्मी मिलेर सङ्क्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।”
सङ्क्रमतिमध्ये बाँकेको नेपालगञ्जबाट फर्केका सङ्क्रमित युवा अरु चार जनासहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ । उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सङ्क्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य छ । टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डा जितेन्द्र कँडेलले बताए ।

प्रतिक्रिया