कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल

नेपालखोज २०७७ जेठ १० गते १८:५७

काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान भएको भेटवार्तामा समाजवादीका नेताहरुले संविधान संशोधन गर्दा मधेसको माग सम्बोधनका लागि सँगै अघि बढ्न देउवालाई आग्रह गरेका छन् ।

भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने जनता समाजवादीका नेताहरुले बताएका हुन् ।

तत्कालीन देउवा नेतृत्वको सरकारको पालामा दर्ता गरिएको संसोधन प्रस्तावलाई अहिलेको प्रस्तावसंगै कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा नेताहरुले काँग्रेससंग छलफल गरेको जनता समाजवादीका नेता केशव झाले बताए ।

काँग्रेस सभापति देउवासँगको छलफलमा पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अनिल झा, महेन्द्र यादव, राजेन्द्र महतो, सरदसिंह भण्डारी लगायतको उपस्थिती रहेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया