बिहीबार, चैत १५, २०८०

कुटपिटबाट दुईको मृत्यु

नेपालखोज २०७७ जेठ ११ गते १७:४९

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो ।

डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा मेहता परिवार र मण्डल परिवारबीच भएको विवाद र झडपमा घाइते सुखदेव मण्डलको मृत्यु भएको बताउनुभयो । पीडित परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कुटपिट गरेको आरोप लगाएका छन् । मुकेशले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै रोक्न गएपछि शुरु भएको विवादले उग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । कुटपिटबाट सुखदेव मण्डलको मृत्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आरोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायाब उपरीक्षक तिलक भारतीले बताए ।

यसअघि वैशाख २३ गते भएको कुटपिटमा घाइते भएका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ८० वर्षीय सुविलाल यादवको बिहीबार मृत्यु भएको थियो । उपचारपश्चात वैशाख २७ गते डिस्चार्ज भई घरमा बसेका वृद्धको मृत्यु भएको भन्दै एक जनाविरुद्ध उजुरी परेको र हालसम्म पक्राउ नपरेको प्रनाउ भारतीले बताए।

प्रतिक्रिया