शुक्रबार, वैशाख १४, २०८१

आज १३ औं गणतन्त्र दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देश

नेपालखोज २०७७ जेठ १५ गते ७:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश/विदेशमा रहेका नेपालीलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन। गणतन्त्रलाई थप सुदृढ तुल्याउन उनले सबैमा आवहन गरेकी छन्।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्दै शुभकामना सन्देशमार्फत भण्डारीले भनेकी छन्, ‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस।’

अपार जनसहभागितामा ऐतिहासिक जनआन्दोलनबाट स्थापित जननिर्वािचत पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको स्मरण गर्दै उनले यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको उनको भनाइ छ ।

‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन प्रेरणाको विश्वास लिएको छु,’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानलाई उनले स्मरण गरेकी छिन्। पूर्वजको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन उनले सबैलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया