शनिबार, जेठ ५, २०८१

तिहार अघि नै फूलको माग वृद्धि

नेपालखोज २०७७ कार्तिक २४ गते १५:१८

झापा । फूलको पर्व अर्थात नेपालीको दोस्रो ठूलो चाँडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ता अघिदेखि नै माग बढेको हो ।

गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गरेका साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उनले फूलखेती गरेका हुन् । विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएका उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । “फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्”, उनले भने ।

विर्तामोड नगरपालिका–४ मा पाँच जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गरेका छन् । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । “तिहारका लागि फूल राखिदिनुपर्‍यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्”, गोमा भट्टाराईले भने, “विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।”

उनले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताए । तीन हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उहाँले रु ५० देखि ६० सम्ममा प्रतिगोटा बिक्री हुने बताए । मेचीनगर–९ मा ‘डिएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत ६ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गरेका छन् ।

विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उनले भने । “विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ”, उनले भने, “तर माग धान्न गाह्रो छ ।”

इलाम, मोरङ, सुनसरीलगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पुर्‍याउन गाह्रो भइरहेको उनले भने । उनले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि पाँच सय जनासम्म हुने गरे पनि यस वर्ष कोभिड–१९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने बताए । “हामी तिहारमा माला उनेर बेच्न भ्याउँदैनौँ”, उनले भने, “बारीमा पसेर उनीहरु आफैँले टिप्नुहुन्छ । प्रतिथुङ्गा डेढ रुपैयाँ गरेर रकम लिन्छौँ ।” सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन सबै व्यवसायीले मलसिङ प्रविधि प्रयोग गरेका छन् । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा निस्कनका लागि मात्र दुलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उनीहरुले फूलको परनिर्भरतालाई हटाउन स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउनुपर्ने बताए ।

प्रतिक्रिया