मंगलबार, वैशाख ४, २०८१

स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम बढ्यो

नेपालखोज २०७७ जेठ १६ गते १०:३७

घोडाघोडी । भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।

कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश भित्रिएको तथ्याङ्क छ । नेपाल–भारत सीमा गौरिफन्टा नाकाबाट जेठ २ गतेबाट स्वदेश फर्कने नागरिकको उद्धार थालिएकामा हालसम्म २३ हजारभन्दा बढीलाई नेपाल प्रवेश गराइसकिएको छ । जेठ २ गतेबाट नेपाल भित्र्याउन थालिएकामा सबैभन्दा बढी १३ गते पाँच हजार २४२ भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताएका छन् । “शुरुमा भित्रनेको सङ्ख्या कम हुँदा त्यो प्रयास गरेकै हौँ तर त्यसको केही समयमै आउनेको सङ्ख्या पनि बढ्यो र स्वास्थ्य सामग्री अभाव भएपछि हामीले परीक्षण रोक्नुपर्ने बाध्यता भयो”, जोशीले भने । अहिले परीक्षणबिना नै सम्बन्धित स्थानीय तहमा नागरिकलाई पठाइरहेको उनको भनाइ छ ।

भारतबाट फर्किएकालाई यसरी स्वास्थ्य परीक्षण नगरी सोझै पालिकामा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने चिन्ता बढेको छ । तर, प्रदेश सरकारले भने परीक्षणको व्यवस्था मिलाउन सकेको छैन । जोखिम क्षेत्रबाट आएकालाई सोझै पालिकामा पठाउने प्रदेश सरकारको कार्यप्रति कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले विमति जनाए । उनले भने, “प्रदेश सरकारले सीमामै भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिदिएको भए गज्जब हुने थियो, सङ्क्रमणको डर पनि हट्ने थियो तर त्यसो भएन ।”

प्रतिक्रिया