रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कडा कारबाही गर्न सांसदहरुको माग
काठमाडौं । सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदले पाँचजना युवाको हत्या र एक युवा बेपत्ता भएको रुकुम पश्चिमको सोती हत्याकाण्ड मानवताविरुद्धकै अपराध भएको बताए।
सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देही लगायत जिल्लामा भएका घटना दलितविरुद्ध मात्रै नभई मानवताविरुद्धको अपराध भएको बताइन्। उनले दोषिलाई कारवाही गर्न सरकारसँग माग गरिन्। सांसद शान्तिमाया तामाङले जातियताका कारण रुकुम घटना घटेको भन्दै युवाहरुको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गरिन्। ‘यो अत्यन्तै अमानवीय घटना हो,’ उनले भनिन्, ‘सरकारले दोषिमाथि कडा कारबाही गर्नुपर्छ।’
त्यस्तै सांसद शान्ता चौधरीले रुकुमको घटना कहालीलाग्दो र दर्दनाक भएको भन्दै निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्। ‘प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध होइन,’ उनले भनिन्, ‘प्रेममा जातको प्रश्न उठाएर गरिएको रुकुम हत्याकान्ड खेदजनक छ।’
उनले जातीय रुपमा कसैलाई ठूलो र कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता भएको बताइन्। ‘प्रेम गरेकै कारण युवाहरुको हत्या गरिनु खेदजनक र निन्दनीय छ,’ उनले भनिन्।

प्रतिक्रिया