८ लाख घरेलु ग्राहकलाई निःशुल्क विद्युत सेवा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७|०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक ९परिवार० लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ। प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ। विद्युतका करिब ४१ लाख ग्राहस्थ ग्राहक छन्।
ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए।
८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत लाइन काट्दै आएको थियो। ‘छुट पाउनेहरु अति विपन्न हुन’, मन्त्री पुनले भने, ‘विपन्नहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराइएको हो।’
नेपालको इतिहासमै लक्षित ग्राहकका लागि विद्युत् निःशुल्क भएको यो पहिलोपटक हो। आगामी १ साउनदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने मन्त्री पुनले स्पष्ट गरे।
मन्त्री पुनका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतदेखि सबै प्रकारका ग्राहस्थ विद्युत ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुँदासम्मका लागि निरन्तरता दिइने छ।
प्रतिक्रिया