शनिबार, वैशाख ८, २०८१

बन्दाबन्दी : सात लाख किराना पसल बन्द हुने खतरा

नेपालखोज २०७७ जेठ १८ गते १६:२७

काठमाडौँ । बन्दाबन्दीले भारतका ठूला उद्योग र व्यापारिक प्रतिष्ठानमा ठूलो संकट पैदा गरेको छ। यद्यपि यसको सबैभन्दा ठूलो मार साना किराना पसलहरुमा परेको छ।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले उल्लेख गरे अनुसार करिब ७ लाख साना किराना पसल सधैँका लागि बन्द हुने अवस्थामा पुगेका छन्।

सहर बजारका गल्ली र घरहरुमा खुलेका यि पसल बन्द हुँदा करोडौं व्यक्ति बेरोजगार हुनेछन्।

बन्दाबन्दी पूरै खुल्ने हो भने पनि नगदको कमी र संक्रमणको भयले ग्राहक नआउँदा घटने ब्यापार यि पसलका मूख्य चुनौती हुन्। रिपोर्टका अनुसार थोक व्यापारी वा कम्पनीबाट यस्ता पसलले सातदेखि २१ दिनसम्मका लागि उधारोमा सामान पाउँछन्। तर अर्थव्यवस्थामा आएको अनिश्चितताका कारण अब यस्तो उधारो पाउने संभावना पनि निकै कम छ।

त्यसैगरी निम्न र निम्नमध्यम वर्गीय आप्रवासी ग्राहकहरु आ–आफ्ना घर फर्किसकेकाले पनि यस्ता पसलले फेरि ग्राहक पाउन कठिन छ।

खुद्रा व्यवसायीको संगठन क्याटका अनुसार यि पसलमा दूध, पाउरोटी, बिस्किट, साबुन, स्याम्पू, पेय पदार्थ साथै अन्य दैनिक उपभोग्य बस्तु बिक्री हुन्छन्। यस्ता उत्पादन बिक्री नहुँदा उत्पादक ठूला कम्पनीलाई पनि यसको मार पर्नेछ।

रिसर्च एजेन्सी निल्सनका अनुसार भारतमा किराना सामानको बिक्रीमा मूल्यका हिसाबले साना किराना पसलको हिस्सा २० प्रतिशत छ।

अर्थतन्त्रमा आइलागेको अप्रत्याशित संकटबाट पार पाउन लकडाउन खोल्ने निर्णयले मानवीय स्वास्थ्यमा भने झन् ठूलो जोखिम निम्त्याएको भन्दै विशेषज्ञहरुले सरकारको आलोचना गरेका छन्। -एजेन्सी

प्रतिक्रिया