सुदूरपश्चिम प्रदेशका थप पाँच जनामा कोरोना संक्रमण
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाजुरामा मृत्यु भएकी दुई वर्षीया बालिका, उनकी २३ वर्षीया आमा, भजनी नगरपालिका-६, थापापुरका २३ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-३ का ४७ वर्षीय पुरुष र जानकी गाउँपालिका-९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका कैलालीको त्रिनगर नाका हुँदै बाजुरा पुगेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार १३ जेठमा त्रिनगर भन्सार नाका भएर पाँच हजार २४२ जना नेपालीको उद्धार गरिएको थियो। त्यही भीडमा संक्रमण पुष्टि भएकी बालिका, उनकी २३ वर्षीया आमा र उनका बुबा पनि आएका थिए। त्यसमा उनका बुबाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।
सोही दिन १३ जेठमा नै ५८ जना बस रिजर्भ गरेर बाजुरा गएको पाइएको छ। त्यस्तै भजनीका कोरोना संक्रमित पुरुष ४ जेठ बाँकेबाट भजनी आएको खुलेको छ। उनलाई भजनीको महुन्याल माविको क्वारेन्टाइनमा राखिएको थियो।
उनीसँगै सोही क्वारेन्टाइनमा ८६ जना रहेको भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृति सिंह विकले जानकारी दिए। उनका अनुसार त्यहाँ रहेका १० जनाको कोरोना परीक्षणमा ९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।
प्रतिक्रिया