शनिबार, जेठ ११, २०८२

‘ गाउँको बाटो हिँड्दा कोरोना सर्छ भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण, घाइतेलाई ट्रमा सेन्टर ल्याइयो’

नेपालखोज २०७७ जेठ २० गते १४:०८

काठमाडौँ । आफ्नो गाउँको बाटो भएर हिँड्दा कोरोना संक्रमण फैलिन्छ भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

मदिरा सेवन गरेका स्थानीयको समूहले स्वास्थ्य सामग्री लिएर जाँदै गरेका एक स्वास्थ्यकर्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

शिखर नगरपालिका–९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि वडा नम्बर ७ को बोगटा गाउँका तीन जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।

वडा नम्बर ७ को लाटामाण्डौं स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी जाँदै गर्दा कुँवरमाथि तीन जनाले आक्रमण गरेको नगरपालिकाका स्वास्थ्य संयोजक हरिश साहले बताए।

आक्रमणमा गम्भीर घाइते भएका कुँवरको डडेलधुरा र धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको साहले जानकारी दिए। ढुंगा प्रहारबाट कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ।

कुँवरमाथि कुटपिटमा संलग्न स्थानीय नविन खत्री, रोशन खत्री र तेज लुहारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

प्रतिक्रिया