शुक्रबार, वैशाख १४, २०८१

घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइयो

नेपालखोज २०७७ जेठ २० गते १७:३०

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी मंगलवार निर्जला एकादशी पर्व मनाएका छन् । प्रत्येक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । मंगलवार दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।

यस वर्ष असार १७ गते बुधवार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म ४ महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो ४ महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ । यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ ।

कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म ४ महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्रा.डा. रामचन्द्र गौतमले बताए ।

प्रतिक्रिया