लकडाउनको स्वरुपबारे सरकारले गृहकार्य थाल्यो
काठमाडौं । सरकारले लकडाउनको मोडल परिर्वतन गर्नेबारे गृहकार्य थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलवार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो ।
छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग संञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।
उनीहरुले लकडाउन लम्बिदै जाँदा उत्पादन, बजार, उत्पादन कार्यमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुलुलो पारेर क्षेत्रगत वर्गिकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिए ।
उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरि अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन् ।उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताइन् ।
उनले जोखिमको तह र क्षेत्रलाई वर्गिकरण गरि विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन आफुहरुले सुझाव दिएको र समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसंग छलफल गरि निर्णय गर्ने आवश्वास दिएको बताए ।

प्रतिक्रिया