मंगलबार, असार १७, २०८२

डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट, तिन जना पक्राउ

नेपालखोज २०७७ जेठ २० गते १९:१३

डोटी । डोटीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । डोटीको दानकोट स्वास्थ्य चौकीका अहेब रमेश कुवँरलाई तीन जनाको समूहले कुटपिट गरेको छ ।

शिखर नगरपालिका–९ दानकोट स्वास्थ्य चौकीमा कार्यरत कुवँरलाई गाउँको बाटो हिँड्दा कोरोना सङ्क्रमण फैलिने भन्दै जाँडरक्सी खाएका स्थानीय तीन जनाको समूहले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा शिखर नगरपालिका ७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारलाई पक्राउ गरिएको बोहराले जानकारी दिए । कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मी कुवँरलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको थियो ।

उनको त्यहाँ उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेहरुलाई आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने प्रहरी निरीक्षक बोहराले बताए ।

प्रतिक्रिया