शनिबार, जेठ ४, २०८२

वडाध्यक्षको नेतृत्वमा प्रहरी पोस्टमा आक्रमण, प्रहरीको बर्दी च्यातियो

नेपालखोज २०७७ जेठ २१ गते १३:१५

रुकुम पश्चिम । मदिराले मातिएका मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसीलगायतको समूहले मंगलबार बेलुका वडा नम्बर १४ को छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी पोस्टमा आक्रमण गरेको छ।

रुकुम पश्चिम जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले वडाध्यक्षको नेतृत्वमा २०, २५ जनाको समूहले प्रहरी पोस्टमा आक्रमण गरेको बताए।

लकडाउनको समयमा जाँडरक्सी पिएर नहिँड्न भनेर सम्झाउँदा अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्री पोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घरमा ढुङ्गामुढा गरेको थियो। उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोस्टमा आक्रमण हुँदा केही प्रहरी बाहिर रहेको बताइएको छ। उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दीसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई कुटपिट गरेका छन्।

प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले दिनभर क्वारेन्टिन व्यवस्थापनको कामबाट फर्किएर खाना खान लागेका बेला एक्कासि आतंककारी शैलीमा आक्रमण गरेको बताए।

उनले सुरुमै ड्युटीमा बसेका प्रहरीलाई अध्यक्षले लात्ती हानेका र उनका छोरालगायतले हातमा चक्कु समातेको देखेको बताए।

साउदका अनुसार अध्यक्ष केसीलाई बिहान हेलमेटबिनै मोटरसाइकल चलाएका बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेका थिए।

उनी ‘तँ हवल्दार चुप लाग्, तँलाई देखाइदिन्छु पख्’ भन्दै झोक्किएर गएका प्रहरीले जनाएको छ।

केसीले केही दिनअगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए। तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो।
त्यही रिसको आवेगले अन्य युवालाई उक्साएर प्रहरी चौकीमा आक्रमण गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र नजिकका अन्य प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ। घटनामा संलग्न अहिलेसम्म कोही पक्राउ नपरेको केसीले जानकारी दिए।

तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका केसीले यसअघि पनि प्रहरीको जिल्ला नेतृत्वमाथि हातपात गरेका थिए। त्यो बेला उनी सत्ताको पहुँचमा छुटेका थिए ।

प्रतिक्रिया