शुक्रबार, माघ ११, २०८१

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी

नेपालखोज २०७७ जेठ २१ गते १४:२१

काठमाडौँ । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन ।

Advertisement

सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको सबै सम्बन्ध एकाएक तोडेका थिए । कतारले कट्टरपन्थी इस्लामिक अभियान र इरानलाई सहयोग गरिरहेको उनीहरुको आरोप थियो, तर कतारले यी आरोपमा सत्यता नभएको भन्दै आजपर्यन्त निरन्तर खण्डन गरिरहेको छ ।

यसै वर्ष यी असमझदारी हट्ने र पूर्ववत सम्बन्ध कायम हुने संकेतहरु देखिएका भए पनि प्रगति हुन सकेको छैन ।

सन् २०१७ मे २४ मा कतारका शासकको नामबाट राज्य संचालित समाचार एजेन्सीको वेबसाइटमा एउटा वक्तव्य प्रकाशन हुन्छ । यो विज्ञप्तिमा इस्लामिक क्रान्तिलाई कतारको समर्थन रहेको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिएको थियो ।

उक्त विज्ञप्ति प्रकाशन भएलगत्तै कतारले सो सामग्री गलत भएको र कसैले समाचार संस्थाको साइट ह्याक गरेको जनायो । तर यो विज्ञप्तिलाई आधार बनाएर खाडी क्षेत्रका संचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए ।

जुन ५ मा साउदी अरेबिया र यसका गठबन्धन मुलुकहरुले एकाएक कतारसँगका सबै सम्बन्ध तोडेको घोषणा गरे । यस घोषणामा कतारसँगको हवाई, सडक, सोझो सिपिङ र कुटनीतिक सम्बन्ध सबै तोडिएको कुरा उल्लेख थियो । अरु मुलुकले पनि आफ्नै किसिमले कतिपय अवस्थामा सामान्य प्रतिबन्धहरु घोषणा गरे ।

त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आफूले हालै अरब राष्ट्रहरुको भ्रमण गर्दा कतारमाथि औंला उठाएका र कट्टरपन्थी विचारधारालाई समर्थन जनाएका बताएको थिए ।

त्यही महिनाको अन्त्यतिर साउदी गठबन्धनले कतारले सुधार गर्नुपर्ने १३ बुँदे विषय सार्वजनिक गरेको थियो । ती बुँदामा अन्य कुराका अतिरिक्त अल–जजिराको दोहास्थित कार्यालय बन्द गर्नुपर्ने तथा टर्कीको सैन्य अखडा बन्द गर्नु पर्ने शर्त राखिएका थिए ।

उक्त १३ बुँदे मागपत्रमा रियादको मुख्य दुश्मन इरानसँगको सम्बन्ध कतारले तोड्न आग्रह गरिएको थियो ।

तर कतारले साउदी गठबन्धनका सबै माग अस्वीकार गरिदियो, किनभने कतारको भनाईमा यी मागहरु यथार्थपरक नभएका र कार्यरुपमा परिणत गर्न नसकिने थिए ।

यस विभाजनले क्षेत्रीय यात्रामा जटिलता उत्पन्न गर्नुका साथै परिवारहरुलाई विच्छिन्न बनाएको छ भने कतारको व्यवसायमा लागत बढाएको छ ।

दोहा विरुद्धको यस गठबन्धनले आफ्ना मागहरु अरु थप्यो । जुलाई २०१७ मा गठबन्धनले कतारसामू १८ जना शंकास्पद अतिवादी समूह र संस्थाको सूची दियो । यो सूचीमा उल्लिखित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्न माग गरिएको थियो । पछि यो सूचीमा नाम थपेर ९० बनाइयो ।

सन् २०१७ अगष्टमा बिआउटक्यू नामको भूउपग्रहले फुटबल समेतका मुख्य कार्यक्रमहरुको साउदी दर्शकलाई ध्यान दिएर प्रसारण शुरु गरेको थियो ।

कतारस्थित खेलकुद प्रसारक बीइनले साउदीले आफ्ना सामग्री अनधिकृत रुपमा प्रसारण गरेको आरोप लगायो । बीइन र साउदीबीचको यो विवाद अझै पनि कानुनी निरुपणको विषय बनेको छ ।

प्रतिक्रिया