मंगलबार, वैशाख ३०, २०८२

शिक्षा मन्त्रालय : वैकल्पिक प्रणालीबाट पठनपाठन गर्न निर्देशिका जारी

नेपालखोज २०७७ जेठ २१ गते १९:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ।

विद्यालय जाने उमेरका बालबालिकालाई शैक्षिक संस्था नियमित रुपमा नखुलेसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्ययमबाट प्रभावकारी र व्यवस्थित रुपमा सिकाइमा सहजीकरण गर्न मन्त्रालयले निर्देशिका बनाई लागू गरेको जनाएको छ।

निर्देशकामा वैकल्पिक रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतको माध्यमको प्रयोग गरेर सिकाइलाई निरन्तरता दिन भनेको छ। स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्न भनेको छ।

विद्यालयले चालु शैक्षिक सत्रको आधारमा आफ्नो विद्यालयको अभिलेख अनुसार विद्यार्थीको नाम, आमाबाबुका नाम, ठेगाना, सम्पर्क नं।, विद्यार्थीको समूहकृत वर्ग र स्रोत साधनको पहुँचको अवस्था समेतको विवरण खुलाई सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने छ।

निर्देशिकाले विद्यालयले समूहगत वा वैयक्तिक रुपमा निर्धारित साधन, विधि तथा प्रक्रिया अपनाइ सिकाइमा सहजीकरण गर्न भनेको छ । सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्दा विद्यालयले साप्ताहिक वा मासिक समय तालिका तयार गरी प्रकाशन गर्नुपर्नेछ।

सिकाइ सहजीकरण कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागि विद्यालयले समूहगत रुपमा शिक्षक वा विद्यालय कर्मचारी वा स्वंयसेवकलाई संयोजन गर्ने जिम्मेवारी दिनुपर्ने र स्थानीय तह वा विद्यालयले सिकाइ सहजीकरण कार्यक्रम संचालन गर्दा आवश्यकता अनुसार सोही समुदायमा क्रियाशील संघसंस्था वा व्यक्तिको सहयोग लिन वा परिचालन गर्नुपर्नेछ।

प्रतिक्रिया