‘यो मुुलुक विरोधकै जगमा स्थापित भएको नबिर्सनु’ : ओबामा
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिका विरोधकै जगमा स्थापित भएको नबिर्सन सबैलाई चेताएका छन् ।
बुधवार एक कार्यक्रम गरी ओबामाले अमेरिकीहरुलाई भने, ‘यो देश विरोधकै बीच स्थापित भएको र यसैलाई अमेरिकी क्रान्ति भन्ने गरिएको हो ।’
अमेरिकामा चलिरहेको वर्तमानको विरोध प्रदर्शनले मुलुकलाई कता लैजाला भनि चिन्ता व्यक्त गर्ने र आलोचना गर्नेहरुलाई ओबामाले यस्तो सन्देश दिएका हुन् ।
आफ्ना विरोध र असन्तोषहरुलाई शान्तिपूर्वक राख्न आह्वान गर्दै ओबामाले भने, ‘यस देशमा भएका प्रगतिको प्रत्येक कदम, स्वतन्त्रताको प्रत्येक विस्तार, हाम्रा गहिरा आदर्शको प्रत्येक अभिव्यक्ति, यथास्थितिलाई असहज हुने माध्यमबाटै विजय प्राप्त गरेको हो । आफ्ना मतभिन्नताहरुलाई शान्तिपूर्ण, अनुशासित तरिकाबाट राख्दै परिवर्तनका लागि लाग्ने सबैहरुप्रति हामी आभारी हुनुपर्छ ।’
सडक प्रदर्शनमा रहेका युवाहरुलाई आशावादी हुन र कामलाई निरन्तरता दिन सन्देश दिँदै ओबामाले भने, ‘हाम्रा कामहरुलाई मानिसहरुले नियालिरहेका छन् । तर सबै कुराको समाधान अहिले मिल्छ भन्ने छैन । त्यसैले निराश नहोउ किनकी यो तीब्र गतिको दौड होइन, यो त म्याराथन हो । तर मानिसलाई शिक्षित, सक्रिय गराउने, एकत्रित गर्दै काममा संलग्न गराउने अवसर भने जुटाइराख्नु पर्दछ । र मलाई आशा छ कि हामी यस क्षणलाई नियन्त्रणमा राख्न सफल हुनेछौं ।’ -एजेन्सी
प्रतिक्रिया