आइतबार, जेठ ६, २०८१

टाइटानिक डुबेको ११२ वर्षपछि पनि कायम छन् यी चार रहस्य

नेपालखोज २०८० असार ९ गते १६:४२

आजभन्दा ११२ वर्षअघिको एउटा चकमन्न रातमा अधिकांश यात्रु मस्त निद्रामा रहेका बेला टाइटानिक पानीजहाज एउटा आइसबर्ग (समुद्रमा हुने हिमशैल)सँग ठोक्किएको थियो।

दुर्घटना हुँदा टाइटानिक इङ्ग्ल्यान्डको साउथ्याम्प्टनबाट ४१ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको न्यूयोर्कतर्फ गइरहेको थियो। तीन घण्टाभित्र सन् १९१२ को १४ र १५ एप्रिलको मध्यरातमा टाइटानिक आन्ध्र महासागरमा डुब्यो।

कहिल्यै नडुब्ने ठानिएको जहाज त्यस बेला डुबेको थियो।

उक्त दुर्घटनामा झन्डै १,५०० जनाको मृत्यु भएको थियो। त्यसैले ११२ वर्षपछि पनि यसलाई सबैभन्दा ठूलो समुद्री दुर्घटना मानिन्छ।

सन् १९८५ को सेप्टेम्बरमा दुर्घटनास्थलबाट पानीजहाजको अवशेष हटाइयो।

सो पानीजहाज दुर्घटनापछि क्यानडादेखि ६५० किलोमिटरको दूरीमा ३,८४३ मिटरको गहिराइमा दुई भागमा टुक्रिएको थियो भने दुई भाग एकअर्काबाट ८०० मिटरको दूरीमा थिए।

यस दुर्घटना भएको ११२ वर्ष बितिसक्दा पनि यसबारे अनेक रहस्य कायमै रहेका छन्। तीबारे बीबीसी न्यूज ब्रजिलले केही विज्ञहरूसँग कुरा गरेर ती रहस्यको जबाफ खोज्ने प्रयास गरेको छ।

१. ‘कहिल्यै नडुब्ने जहाज’

उक्त विशाल पानीजहाज ‘डुब्न सक्दैन, भगवान्‌ले पनि यसलाई डुबाउन सक्दैनन्’ भनिएको थियो। यस विश्‍वासका पछाडि कारणहरू पनि थिए।

‘इन्जिनियरिङका सन्दर्भमा त्यस डिजाइनको आधारमा विकसित गरिएको त्यो पहिलो जहाज थियो,’ फेडरल यूनिभर्सिटी अफ रिओ द जिनैरोको जलसेना र महासागर इन्जिनियरिङ विभागका प्राध्यापक तथा इन्जिनियर अलेक्जान्ड्रे डे पिन्हो अल्होले भने।

‘जहाजमा धेरै पानी नछिर्ने कक्षहरू बनाइएका थिए। अर्थात् जहाजको एउटा कोठा पानीले भरिएको भए अर्को कोठालाई डुबाउन सक्दैनथ्यो।’

जहाज निर्माणका क्रममा केही कठिनाइहरू सिर्जना भएका थिए।

बिजुलीको तार र पानीको पाइपले राम्ररी काम गरोस् भनेर जहाजको उचाइ कति राख्ने भन्ने विषयमा धेरै छलफल भएको थियो।

प्राध्यापक अल्होका अनुसार “यसलाई विचार गरेपछि उनीहरूले जहाजको उचाइ निर्धारण गरे, बाढीको अवस्थामा पनि पानी छानाको उचाइमा पुग्न नसक्ने अनुमान गरियो। उनीहरूले छतमा सुरक्षित कक्षहरू पनि बनाए।”

तर त्यस बेला विशाल हिमचट्टानसँगको ठक्करको बारेमा कसैले सोचेका थिएनन्।

प्राध्यापक अल्हो भन्छन्, ‘ठक्कर यति बलियो थियो कि जहाजको मुख्य भागको आधा लम्बाइसम्म प्वाल परेको थियो। यस्तो अवस्थामा पानी छतसम्म पुगेको थियो।”

‘जहाज पानीले भरिन थालेको थियो, यस्तो अवस्थामा उद्धार सम्भव हुँदैनथ्यो। तपाईंले पानी हटाउन सबै पम्पहरू सक्रिय गर्न सक्नुहुन्छ, तपाईं सबै प्रयास गर्न सक्नुहुन्छ। तर पानी जसरी भित्र आउँथ्यो, उही गतिमा बाहिर निकाल्न सकिँदैनथ्यो।’

जहाज निर्माता र न्याभिगेटर सिभिल इन्जिनियर थिअरी बताउँछन्, ‘टाइटानिक डुब्दैन भनेर प्रचार गरिएको थियो। त्यसको कारण त्यसमा धेरैखाले तला बनाइएको, पानी नछिर्नेगरी। बेसमन्टको दुई पङ्क्तिमा पानी भरिएमा जहाज डुब्ने थिएन। बाढी आउँदा डुब्न जान्छ। तर आइसबर्गसँगको टक्करले जहाजलाई ठूलो क्षति पुर्‍यायो र पानी नछिर्ने कक्षका धेरै पर्खालहरू नष्ट भए।’

फ्लुमिनेन्स फेडरल यूनिभर्सिटीका प्राध्यापक तथा यातायात इन्जिनियर ओरिलो सोरास मुर्ताका अनुसार टाइटानिकको पानी नछिर्ने कक्षको ‘क्लोजर सिस्टम’ले समेत राम्रोसँग काम गरिरहेको थिएन।

त्यति बेला जहाज बनाउन प्रयोग हुने धातु अहिलेको स्टीलजस्तो बलियो थिएन ।

सुरास मुर्ता भन्छन्, ‘कडा ठक्करपछि जहाजको संरचनामा परिवर्तन आएको थियो। ढोका बन्द नभएर अड्किएको थियो। त्यति बेला पनि टाइटानिक शुद्ध स्टीलले बनेको थियो, तर त्यति बेलाको स्टिल आजको स्टिलजस्तो बलियो थिएन।’

साओ पाउलोको म्याकेन्जी पर्स्बिटेरियन यूनिभर्सिटीका प्राध्यापक तथा धातु इन्जिनियर जान बैटाबुकले सन् १९४० को दशकसम्म जहाजको मुख्य भाग धातुका पाताबाट बनेको बताउँछन्।

यद्यपि पछि धातुहरू पगालिएर यी जहाजहरूको मुख्य भाग बनाउन प्रयोग गरियो।

बैटाबुक भन्छन्, ‘त्यसपछि प्रविधि र सामग्रीमा धेरै परिवर्तन भइसकेका छन्। अहिले धातु पगालेर जोडिएको छ। स्टील निर्माणमा कार्बनको प्रयोग घट्न थालेको छ र म्याग्नीजको प्रयोग पनि बढ्न थालेको छ। आजको स्टील निकै बलियो छ।’

बैटाबुकका अनुसार आजका जहाजहरू पानी, समुद्री छालको उतारचढाव र समुद्री आँधीसँग मिलाउन सक्षम छन्।

२. ‘ब्लू ब्यान्ड’ प्राप्त गर्न दौड

ठूला दुर्घटनापछि प्राय: मानवीय त्रुटिलाई दोष दिइन्छ।

विज्ञहरूका अनुसार हिउँको विशाल ढिक्काले भरिएको उक्त भूभाग पार गर्न कठिनाइ हुँदाहुँदै पनि छिटो यात्रा पूरा गर्न ठूलो दबाव थियो।

वास्तवमा यो दबाब ‘ब्लू ब्यान्ड’ हासिल गर्न थियो।

सन् १८३९ मा सुरु भएको यो सम्मान सबैभन्दा छिटो आन्ध्र महासागर पार गर्ने जहाजलाई दिइएको थियो। टाइटानिकलाई यो सम्मानको सबैभन्दा बलियो दाबेदार मानिएको थियो।

प्राध्यापक अल्होले भने, ‘टाइटानिक निर्माणमा त्यस समय उपलब्ध उत्कृष्ट इन्जिनियरिङ र प्रविधिको प्रयोग गरिएको थियो। त्यति बेला जहाज निर्माणका लागि विश्‍वका ठूला कम्पनीहरूबीच प्रतिस्पर्धा थियो। त्यति बेला सबैभन्दा लामो र छिटो यात्रा गर्ने जहाज निर्माण गर्न इङ्ग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा थियो।’

सबैभन्दा ठूलो र छिटो अघि बढ्ने जहाजले आधिकारिक रूपमा नीलो ब्यान्ड पाउँथ्यो। यो उपलब्धि हासिल गर्न कुनै पनि जहाजको लागि पहिलो यात्रा सबैभन्दा महत्त्वपूर्ण मानिन्थ्यो।

अल्होका अनुसार “पहिलो यात्रामा जहाजको अवस्था सबैभन्दा राम्रो हुन्छ, पहिलो यात्रामा जहाजले सबैभन्दा तीव्र गति हासिल गर्न सक्छ। टाइटानिकले पनि सबैभन्दा तीव्र गति हासिल गर्ने प्रयास गरेको थियो।”

दुर्घटनामा परेर बाँचेका धेरैले सुनाएअनुसार पानीजहाजका क्याप्टेनले वरपरका विशाल आइसबर्गबारे जानकारी पाएका थिए।

तर उनीहरूले तीव्र गतिमा आन्ध्र महासागर पार गर्न खोजिरहेकाले जहाजको गतिलाई कम गराएनन्।

३. टाइटानिक एक्लै थिएन

टाइटानिक एक्लै थिएन। यो जहाज सञ्चालक ह्वाइट स्टार लाइन कम्पनीले २०औँ शताब्दीको प्रारम्भमा बेलफास्ट सहरको हार्ल्यान्ड र वोल्फ शिपयार्डमा तीनवटा जहाज निर्माण गर्न लगाएको थियो।

विश्‍वस्तरीय डिजाइन टोलीले बनाएका यी तीनवटा जहाज विश्‍वकै सबैभन्दा लामो, सुरक्षित र सुविधासम्पन्न हुने अपेक्षा गरिएको थियो।

इन्जिनियर स्टम्पले भने, ‘त्यति बेला यी परियोजनाको राम्रो प्रचार पनि भएको थियो।’

सन् १९०८ र सन् १९१५ बीचमा निर्माण गरिएका यी जहाजहरूलाई ओलम्पिक श्रेणीको जहाज भनिन्थ्यो। सन् १९०८ मा ‘ओलम्पिक’ र सन् १९०९ मा ‘टाइटानिक’को निर्माण सुरु भएको थियो। तेस्रो ‘जाइग्यान्टिक’ जहाजको उत्पादन सन् १९११ मा सुरु भयो।

तर तीनवटै जहाज कुनै न कुनै दुर्घटनामा परेका थिए। ओलम्पिक जहाजले सन् १९११ मा सेवा सुरु गरेपछि त्यही वर्ष त्यो एउटा युद्धपोतसँग ठोक्किएको थियो। तर मर्मतपछि त्यसले फेरि सेवा सुरु गर्‍यो।

प्रथम विश्‍वयुद्धको समयमा ब्रिटिश जलसेनाले त्यसलाई सैनिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रयोग गर्‍यो।

त्यसपछि सन् १९१८ मा यो एक जर्मन पनडुब्बीसँग ठोक्कियो। मर्मतपछि यसलाई सन् १९२० देखि पुन: सञ्चालनमा ल्याइयो।

पुरानो र भरपर्दो मानिने यो जहाज सन् १९३५ सम्म प्रयोगमा थियो।

टाइटानिकले सन् १९१२ को एप्रिल १० मा आफ्नो पहिलो यात्रा सुरु गरेको थियो।

यो साउथ्याम्प्टन बन्दरगाहबाहिर अर्को जहाजसँग ठोक्किनबाट जोगियो। तर एप्रिल १४ मा भने ऐतिहासिक दुर्घटनाको सिकार भयो।

‘जाइग्यान्टिक’को पनि खासै उपयोग भएन। यसको नाम फेरेर ‘ब्रिटानिक’ बनाइयो।

ब्रिटिश जलसेनाले पहिलो विश्‍वयुद्धको समयमा यसलाई अस्पतालमा परिणत गरेको थियो। यो जहाज सन् १९१६ को नोभेम्बरमा डुबेको थियो।

यी तीनवटा जहाज आफ्नो समयमा निकै ठूला थिए। आजको समयको तुलनामा निकै सानोमा गनिन्छन्। ‘आजका जहाजका तुलनामा ती डुङ्गा मात्र थिए,’ मुर्ता भन्छन्।

टाइटानिकको लम्बाइ २६९ मिटर थियो । चालकदल र यात्रुसहित करिब ३,३०० जना बस्ने सुविधा थियो ।

आजको सबैभन्दा ठूलो यात्रुवाहक जहाज ‘वन्डर अफ द सी’ हो। त्यो ३६२ मिटर लामो छ र त्यसमा चालकदलका २,३०० सदस्यसहित ७,००० यात्रु बस्न सक्छन्।

४. त्यति धेरै मृत्युको कारण के थियो ?

टाइटानिक दुर्घटनामा लगभग १,५०० जनाको मृत्यु भएको थियो।

उक्त दुर्घटनापछि समुद्री जहाजहरूको सुरक्षा प्रणाली सुधार गर्न प्रयासहरू सुरु गरिएका थिए।

त्यसपछि सामुद्रिक जहाजको सुरक्षाका लागि रेडारजस्ता उपकरणहरू जडान गर्न थालिएको हो।

प्राध्यापक अल्हो भन्छन्, ‘रेडारको प्रयोग दोस्रो विश्‍वयुद्धपछि मात्रै सुरु भएको थियो। त्यसअघि सबै कुरा हेरेको भरमा हुन्थ्यो। एउटा नाविकलाई उचाइमा राखिन्थ्यो र त्यहाँबाट उसले अगाडि रहेको हिमचट्टान हेर्दै सतर्क गराउँथ्यो। यो उपाय तीव्र गतिमा चल्ने जहाजका लागि सुरक्षित तरिका थिएन।’

टाइटानिक दुर्घटनामा धेरै मानिसहरूको मृत्यु भयो किनभने तिनीहरूका लागि कुनै ‘लाइफबोट’ थिएन। यस घटनाले यात्रुहरूको सुरक्षाको विषय टडकारो रूपमा आयो।

प्राध्यापक अल्हो बताउँछन्, ‘यो जहाज कहिल्यै डुब्न सक्दैन भन्ने विश्‍वासका कारण जहाजमा आधा लाइफबोटहरू मात्र राखिएको थियो।’

मुर्ता भन्छन्, ‘सामुद्रिक जहाजको सुरक्षाका दृष्टिले यो दुर्घटना महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको छ। त्यसपछि सामुद्रिक जहाजको सुरक्षाका लागि संस्थागत ढाँचा बनाइएको छ, निर्माणका क्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखिएको छ। निरन्तर रूपमा त्यो राम्रो बनाउनेगरी कामहरू भएका छन्।’

‘आजको समयमा रेडार र सोनरले धेरै पहिले आइसबर्गहरू पत्ता लगाउँछन्। आज समुद्र म्यापिङ वा न्याभिगेशन चार्टहरू सबै यात्राहरूमा निकै आधुनिक रूपले उपलब्ध छन्।’

प्रतिक्रिया