बाँदरमुढे घटनाको निष्पक्ष छानबिन गर्न एड्भोकेसी फोरमको माग

नेपालखोज २०७७ जेठ २३ गते १४:१२

काठमाडौँ । चितवनको माडीस्थित बाँदरमुढे घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न एड्भोकेसी फोरम नेपालले माग गरेको छ।

१५ वर्षअघि (२०६२ जेठ २३) मा नेकपा माओवादीले गुडिरहेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए।

उक्त घटनाका पीडितहरू अझैसम्म पनि सत्य, न्याय र परिपूरणका लागि प्रतीक्षा गरिरहेको भन्दै फोरमले छानबिनको माग गरेको हो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहालले उक्त घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गरेको भए पनि छानबिनको लागि कुनै पनि उपाय अपनाउन नदिएको फोरमले जनाएको छ।

त्यसैगरी, माओवादीले १६ वर्षीय किशोर कृष्णप्रसाद अधिकारीको वीभत्स हत्या गरेको १६औं वार्षिकी भोलि परेको छ। २०६१ साल जेठ २४ गते गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीलाई चितवनमा हजुरबुवाआमालाई भेट्न आएको बेलामा तत्कालीन माओवादीले यातना दिएर हत्या गरेको थियो।

उनका पिता नन्दप्रसाद अधिकारी छोराको न्यायका लागि संघर्ष गर्दागर्दै २०७१ भदौमा निधन भएको थियो। उनको शव अहिले पनि टिचिङ अस्पतालमै छ।

आमा गंगामाया अधिकारी सात वर्षदेखि छोरा र पतिका लागि न्यायको माग गर्दै समय समयमा भोक हडताल गरिरहेकी छन्।

सर्वोच्च अदालतको आदेशपछि कृष्णप्रसाद अधिकारीको हत्यामा अनुसन्धान आरम्भ गरिएको भए पनि त्यो स्वतन्त्र र विश्वसनीय नभएको एड्भोकेसी फोरमले जनाएको छ।

त्यसैले, स्वतन्त्र विज्ञहरूको टोली गठन गरेर यस घटनामा औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न एड्भोकेसी फोरमले माग गरेको छ।

यस्तो प्रकृतिको अनुसन्धान सत्यनिरूपण तथा मेलमिलाप आयोगले गर्नेछ भनी पन्छिने गरिएको तर विगत ६ वर्षदेखि उक्त आयोगले द्वन्द्वकालीन कुनै पनि घटनाको अनुसन्धान गर्न नसकेको एड्भोकेसी फोरम नेपालका निर्देशक ओमप्रकाश सेन ठकुरीले जानकारी दिए।

पीडितहरूलाई नियमित फौजदारी न्याय प्रणालीबाट वञ्चित गराउनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगको उपयोग गरिएको उनको भनाइ छ।

आयोगले न्याय प्रणालीलाई प्रतिस्थापन नगर्ने र मानवअधिकारका जघन्य उल्लंघनका घटनाको अनुसन्धान, अभियोजन तथा सजाय गर्ने दायित्व राज्यको हुने एड्भोकी फोरमले जनाएको छ।

प्रतिक्रिया