संसद बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।
आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमा विनियोजन खर्चमा छलफल हुने संसद सचिवालयले जनाएको छ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकमा विनियोजन खर्चमा पनि छलफल हुने सचिवालयले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकमा विनियोजन खर्चमाथि परेका खर्च कटौतिका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ।
प्रतिनिधिसभाको हिजोको बैठकमा विभिन्न ८ वटा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ। आज विनियोजन विधेयकमाथिको छलफल सकिए भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएर बजेटमाथिको छलफल सम्पन्न गर्ने संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया