बिहीबार, असार १२, २०८२

नेपाली कन्सुलेट जेनरल : साउदीको मक्का क्षेत्रमा अवैधानिक भएका नेपालीलाई सम्पर्कमा आउन आग्रह

नेपालखोज २०७७ जेठ २६ गते ६:१३

काठमाण्डौँ । साउदीको मक्का पश्चिम क्षेत्रमा अवैधानिक भएर बसेका नेपालीहरुलाई सम्पर्कमा आउन जेद्दामा रहेको नेपाली कन्सुलेट जेनरलले आग्रह गरेको छ ।

भागेर अवैधानिक भएका तथा कम्पनीले अकामा नबनाइ दिएका वा नवीकरण नगरिदिएका ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरानमा बस्ने नेपालीलाई सम्पर्कमा आउन कन्सुलेट जेनरलले आग्रह गरेको हो ।

कोभिड १९ को विश्ववव्यापी संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने अवस्था भएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेसँगै जेद्दामा रहेको कन्सुलेट जेनरलले यस्ता व्यक्तिहरुको खोजी गर्न लागेको हो । यस्तो अवस्थामा रहेका नेपालीलाई आवश्यक विवरणसहित जेद्दामा रहेको कन्सुलेट जनरलमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यस्ता व्यक्तिले आफ्नो नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान र सम्पर्क नम्बर विवरणमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै राहदानीको फोटोकपी (फोटोपेज मात्रै), अकामा बनेको भएमा अकामाको फोटोकपी र अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपी पनि पेश गर्नुपर्ने कन्सुलेट जनरलले जनाएको छ ।

आवश्यक परेको खण्डमा कन्सुलेट जनरलको सम्पर्क नम्बर ०१२६२२६६६५ मा सम्पर्क गर्न सकिनेछ । यस्तै कन्सुलेट कर्मचारीको नम्बर ०५९६७२६७०७, ०५३८५०२१९२ र ०५८ १७१४७५६ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया