मंगलबार, वैशाख ४, २०८१

बजेट सिध्याउन अण्डर ग्राउण्ड केवल

नेपालखोज २०७७ जेठ २७ गते ९:०५

मुलुक लकडाउनको अवस्थामा रहेका बेला नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारहरु अण्डरग्राउण्ड गर्ने कामका थालनी गर्यो । जुन कार्य अहिले पनि जारी छ । शहरी सौन्दर्यता र सुरक्षाका दृष्टिकोणले यस कार्यालय उचित नै हो ।

तर यतिखेर नागरिकहरुका लागि प्राथमिकताका कामलाई छाडेर तार अण्डर ग्राउण्ड गर्ने कार्यलाई बजेट सिध्याउने मेलोका रुपमा विश्लेषकहरुले लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नवीनतम् कार्यको शुरुवाती भन्दै केवल अण्डरग्राउण्ड गर्ने कार्यको औपचारिक रुपमा नै उद्घाटन गरेका थिए । ओलीले उद्घाटना गरेका यस्तै अन्य कार्यहरु पनि विवादबाट अछुतो रहन सकेको भने छैन ।

मुलुकको अर्थतन्त्र कोभिड–१९ का कारण अस्तव्यस्त छ । कलकारखाना वन्द छन् । उद्योग व्यापार ठप्प छ । नागरिकहरुको स्वास्थ्य संकटको अवस्थामा देखिएको छ । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट जनतालाई जोगाउने तर्फ उन्मूख हुनु पर्ने सरकार जनताको प्राथमिकताका कुरा छाडेर बजेट सिध्याउने र कसरी कमिशन हसुर्ने खेलमा लागेको देखिन्छ ।

गत वर्षकै दशैमा काठमाडौंवासीले मेलम्चीको पानी पिउने ढोङ पिटेको ओली नेतृत्वको सरकारले अहिलेसम्म शुद्ध पिउने पानीको व्यवस्था गर्न सकेको छैन । जनताकाको दैनिक र अत्यावश्यक आवश्यकतालाई छाडेर ‘काम कुरो एकारित कुम्लो वोकी ठिमीतिर’ भन्ने उखान जस्तै गरी सरकार अगाडि बढेको छ ।

विद्युत माफियाहरुको जालोमा फसेका विद्युत प्राधिकरणका उच्च कर्मचारीहरुका कारण १८ घण्टासम्म लोडसेडिङ्ग व्यहोर्नु परेका विगतलाई कुलमान घिसिङले लोड सेडिङ मुक्त बनाई दिए र स्यावासी पनि पाए । उनको प्रशंसा नगर्ने सायद नै होलान् । राम्रो कामको उच्च मूल्यांकन हुनु पर्दछ र घिसिङ्गका सन्दर्भमा भयो पनि । यद्यपी उनले जुन स्यावासी जनताबाट पाएका थिए त्यो सँधै बचाई राख्न सकेको देखिँदैन । कतिपय कुरा सञ्चार माध्यमले अतिरञ्जित बनाईदिनाले पनि वास्तविक कुराहरु लुकेर बस्ने गरेका छन् । अहिले प्राधिकरणको अवस्था पनि त्यस्तै भएको छ ।

मुलुकलाई लोडसेडिङ मुक्त गराउने एउटा अभियान सफल बनाएर त्यसलाई देखाउँदै प्राधिकरण भित्र अनेकौ आर्थिक अनियमितता र समय अनुरुप जनताको पहिलो आवश्यकता भन्दा फरक किसिमका कार्यहरु लुकाउने प्रयास भईरहेको छ । एउटा असल काम देखाएर दर्जनौ खराव काम गरी मुलुकको ढुकुटी रित्याउने काम प्राधिकरण भित्र भईरहेको छ । त्यसैले कुलमान घिसिङ्गले गरेको एउटा काम होइन त्यसपछिका कार्यहरुको पनि विश्लेषण गर्नु आवश्यक छ ।

प्रतिक्रिया