कोभिड-१९ नियन्त्रणमा सरकार गम्भीर देखिएन : सांसद थापा
काठमाडौं । नेपाली काँग्रेस नेता गगनकुमार थापाले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेस नेता गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरेका छन् । निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ? भन्दै प्रश्न गरेका छन् ।
उनले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए ।

प्रतिक्रिया