ट्रम्पले आगामी निर्वाचनको प्रचारका लागि चुनावी सभा थाल्ने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताएका छन् ।
गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन ।कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्याली र सभालाई निरन्तरता दिने बताएका हुन ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन ।
शुक्रबारबाट आफूले र्याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् ।
विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।
कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।
जसका कारण अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ ।
निर्वाचन नजिकिन थालेपछि दलहरुले चुनावी सभालाई तीव्र पार्नुपर्ने भएपनि कोरोना महामारीले सबै गतिविधिहरु प्रभावित हुँदै आएका छन् ।
आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिष्पर्धीको रुपमा डेमोक्र्याट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो विडेन उम्मेद्वार रहेका छन् । -एजेन्सी
प्रतिक्रिया