आज एकैदिन दैलेखका २२ जना कोरोना मुक्त
दैलेख । दैलेखमा २० महिने बालकसहित २२ जना डिस्चार्ज भएका छन् । जिल्ला सदरमुकाम स्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत २२ जना आज डिस्चार्ज भएका हुन् ।
उनीहरुमा दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो। कोरोना संक्रमण पुष्टि भएका अधिकाँशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेका छन् ।
कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् । आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड(१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।
रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए ।
प्रतिक्रिया