स्पेनिस ला लिगा : पहिलो खेलमा सेभियाको सहज जित
एजेन्सी । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।
घरेलु मैदान रामोन सान्चेज पिज्जुवान स्टेडियममा सेभियाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा लुकास ओकम्पासको प्रहार पोस्टमा लागेर बाहिरिँदा सेभियाले खेलमा अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा ओकम्पासले नै मौका खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
पहिलो हाफमा पाहुना टोली रियल बेटिसले सेभियाको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफको सुरुमै जेसस नाभासको पासमा मुनिर इएल हाडडाडीको प्रहार सदुपयोग हुन नसक्दा सेभिया पुनः अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
मार्क बार्टाले लुक डि जोङमाथि फउल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा सेभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ओकम्पास चुकेनन् । ६२औं ओकम्पासकै कर्नरमा अनमार्क रहेका फर्नान्डोले हेडमार्फत गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।
खेलमा २–० ले पछि परेपछि रियल बेटिसले बल पोजेसनमा पकड बनाउँदै केही आक्रमण बुने पनि गोल गर्न चुक्दा पराजित हुन पुग्यो । जितसँगै सेभियाले अर्का सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको सेभियाको २८ खेलबाट ५० अंक पुगेको । समान खेलबाट ३३ अंक रहेको रियल बेटिस १२ औं स्थानमा यथावत् छ ।
प्रतिक्रिया