‘आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक’ : कांग्रेस

नेपालखोज २०७७ असार १ गते १२:५६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा काँग्रेसका सांसद जीतेन्द्रनाराण देवले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइयोस्’ भन्ने प्रस्ताव पेश गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारद्वारा गठित आयोगले गरेका सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक भएको बताए ।

सरकारले अर्थशास्त्री डा डिल्लीराज खनालको संयोजकत्वमा सार्वजनिक खर्च पुनरवलोकन आयोग गठन गरेको थियो । आयोगले २०० बढी आयोग, बोर्ड तथा विकास समितिमध्ये १२३ लाई खारेज गरी केहीलाई एकीकृत गर्न सुझाव दिएको थियो । सांसद देवले भने, “आफैले गठन गरेको आयोगको सिफारिसलाईसमेत कार्यान्वयन नगरी बजेट ल्याइयो ।”

सोही दलका सांसद प्रकाश पन्थले ‘विनियोजन विधेयक, २०७७’ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव राख्दै कानून मन्त्रालयलाई थप सवलीकरण गरिनुपर्नेमा जोड दिए।

सूचना प्रविधिको प्रयोगलाई ब्यापक बनाउँदै सूचना प्रविधिलाई शिक्षा, कृषि तथा राष्ट्रिय सुरक्षासँग जोडिनुपर्ने उल्लेख गर्दै उनले नेपाल टेलिभिजन र रेडियो नेपालाई सार्वजनिक प्रसारण संस्थाका रुपमा विकास गर्न माग गरे।

काँग्रेसका सांसद तारादेवी भट्टले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै महिला, किशोरी, महिला तथा बालबालिकालाई सशक्त बनाउने सूचक बजेटमा समेटिन नसकेको गनुासो गरिन्। महिला सशक्तीकरणमा बजेट किन विनियोजन नगरिएको भनी प्रश्न गर्दै उनले महिला हिंसा, मानव बेचविखन, यौन शोषण अन्त्य गर्न मन्त्रालयले गरिरहेको कामका बारेमा बजेटमा उल्लेख नगरिएको बताइन्।

प्रतिक्रिया