बिहीबार, चैत १५, २०८०

विमान खरिद प्रकृया रोकियो

नेपालखोज २०७७ असार ४ गते १५:०१

काठमाडौँ । कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ । कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ ।

गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द तथा यात्रा प्रतिबन्धका कारण ठूलो समस्यासँग जुधिरहेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रा संघले गत अप्रिलमा मध्यपूर्व र उत्तर अमेरिकाको हवाई यात्रामा यस वर्ष आधाभन्दा बढीले कमी आउने चेतावनी दिएको थियो ।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बाकरले नयाँ विमान खरिदका आदेशहरु रद्द गरिएको जानकारी दिए । उनले कम्पनीका तर्फबाट सन् २०२० र अर्को वर्ष नयाँ कुनै विमान खरिद नगर्ने बारेमा बोइङ र एयरबसलाई जानकारी गराइसकिएको पनि बताए।

अल–बाकरले अर्को दुई वा तीन वर्षभित्र खरिद गर्नेगरी दिइएको अर्डर पनि अब आठदेखि १० वर्ष पछि सारिएको बताए । तर सोचेभन्दा चाँडो परिस्थितिमा सुधार भए हवाई जहाज खरिदमा पुनर्विचार गरिने उनले स्पष्ट पारे।

कतार एयरवेजले अहिले वित्तीय संकटको सामना गर्नु परेको कम्पनीले जनाएको छ । मार्च २०१९ सम्ममा कम्पनीले करिब ६४ करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको छ ।

प्रतिक्रिया