सरकारले कोरोना परीक्षणको दायरा बढायो, ६ देखि १० लाख मानिसको पिसिआर गर्ने लक्ष्य

नेपालखोज २०७७ असार ४ गते १६:३५

काठमाडौँ । सरकारले आगामी कात्तिकसम्ममा ६ देखि १० लाख मानिसको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाउन भन्दै धेरैभन्दा धेरैको नमुना संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागेको हो ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने गरि हाल मन्त्रालयले थप ६ लाख पिसिआर किट खरिदको लागि मन्त्रालयले प्रकृया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उनकाअनुसार फेरि ६ लाख पिसिआर किट खरिदको लागि खरिद कम्पनीसँग सम्झौताको प्रक्रिया समेत अघि बढाइको छ ।

यसका साथै विभिन्न दातृ निकायले सहयोगस्वरूप दिने किटहरूले समेत परीक्षणमा सहयोग पुग्ने उनाले बताए । नेपालको पहिलो केस पहिचान गर्न विदेश पठाएको सरकारले हाल उपत्यकासहित देशका २२ वटा स्थानबाट पिसिआर परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया