विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।
आज विहान बसेको नेकपा सचिवालय बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको एक नेकपा नेताले जानकारी दिएका छन् ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधिन थियो अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन् । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले त्यसमा असहमति जनाएको थियो ।
प्रतिक्रिया