शनिबार, वैशाख ८, २०८१

आज लाग्ने ‘खण्डग्रास सूर्यग्रहण’ले कुन राशिलाई कस्ताे फल दिन्छ ? कस्ले के गर्ने कस्ले के नगर्ने ?

नेपालखोज २०७७ असार ७ गते ६:५७

काठमाडाैं । आज आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार ‘खण्डग्रास सूर्यग्रहण’ लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।

उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।

त्यसैले असार ६ गते राती १०: ५० देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हुन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

यसपटकको खण्डग्रास सूर्यग्रहण मृगशिरा र आर्द्रा नक्षत्र (मिथुन राशि)मा परेको हुनाले यी राशिका व्यतीहरूलाई अति कष्ट रहेको छ ।

यस बाहेकका बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ:
मेष : श्री: प्राप्ति हुने
वृष : क्षति हुने
मिथुन : घात हुने
कर्कट : खर्च बढ्ने
सिंह : लाभ हुने
कन्या : सुखदायी हुने
तुला : मान हानी हुने
बृश्चिक : कष्ट हुने
धनु : स्त्री पीडा हुने
मकर : सुख मिल्ने
कुम्भ : चिन्ता बढ्ने
मीन : व्यथा बढ्ने ।

प्रतिक्रिया