शनिबार, माघ १२, २०८१

सुदूरपश्चिममा एउटामात्रै पीसीआर मेसिन, साढे पाँच हजार नमुना नतिजाको पर्खाइमा

नेपालखोज २०७७ असार ७ गते १३:२१

काठमाडौँ । गत जेठ २१ गते कैलालीको गौरीगंगा नगरपालिकास्थित पशुपति माविमा बनाइएको क्वारेन्टिनमा रहेका ५० जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरियो। उक्त परीक्षणको नतिजा गत बुधबार अर्थात् १४ दिनपछि मात्रै आयो।

Advertisement

त्यसअघिका नमुना थन्किएकाले परीक्षण नतिजा आउन ढिलाइ भएको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ।

गत जेठ २४ गते सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले पाँच दिन स्वाब संकलन बन्द गर्यो। कारण थियो– प्रयोगशालामा स्वाब थन्किनु।

सुदूरपश्चिमको कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब थन्किएपछि पाँच दिन नमुना संकलन बन्द गर्नुपरेको गर्नुपरेको निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले जनाए।

सुदूरपश्चिममा स्वाब नमुना थन्किएको यी दुई उदाहरणले स्पष्ट पार्छ। पर्याप्त पीसीआर मेसिन नहुँदा सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका स्वाबको परीक्षण हुन सकेको छैन।

निर्देशनालयका अनुसार त्यहाँ अहिलेसम्म पाँच हजार ४९५ नमुना प्रयोगशालामै थन्किएका छन्।

पीसीआर मेसिन थप गर्न राज्यले चासो नदेखाएको यहाँका स्थानीयको आरोप छ। “यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ। तर, यहाँ कोरोना भाइरस संक्रमण परीक्षण गर्ने एउटामात्रै पीसीआर मेसिन छ,” कैलालीको धनगढी उपमहानगरपालिका–१३ का दुर्गा जोशीले भने।

निर्देशनालयका प्रमुख डा। अवस्थीले पर्याप्त पीसीआर मेसिन नहुँदा प्रयोगशालामै थन्किएको बताए। “यहाँ कोरोना परीक्षण गर्ने एउटामात्रै उपकरण छ, जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ,” डा। अवस्थीले भने, “यसबाट प्रदेशभरको पीसीआर परीक्षण गर्न कठिन छ।”

सुदूरपश्चिममा कोरोना संक्रमण परीक्षण गर्ने कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मात्रै पीसीआर परीक्षण हुने गरेको छ।

पीसीआर मेसिन थप्न पहल भइरहेको डा। अवस्थीले बताए। “यहाँका विभिन्न निकायले पीसीआर मेसिन थप गर्न पहल गरिरहेका छन्,” उनले भने। मेसिन आवश्यक रहे पनि राज्यले चासो नदेखाएको उनको आरोप छ ।

 

प्रतिक्रिया