शुक्रबार, वैशाख १४, २०८१

मैथिली समुदायको जितिया पर्व

नेपालखोज २०७७ भदौ २४ गते १६:४८

नेपालको मैथिली समुदायमा जितिया पर्वलाई एक प्रमुख पर्वको रुपमा लिइन्छ । यो पर्व चन्द्रमास अनुसार असोज कृष्ण सप्तमीका दिनबाट आरम्भ भई असोज कृष्ण नवमीमा समापन गरिन्छ ।

मैथिली समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । जितिया ब्रतलाई पवित्र ब्रतको रुपमा लिने गरिएको छ । जितिया पर्वमा जितमहान बाबालाइ पुज्ने गरिन्छ । यो पर्व विशेषगरी विवाहित महिलाहरुले ब्रत बसेर आफ्नो परिवारको सदस्यका लागि लिने भएतापनि विशेषत यो ब्रत पुत्रलाभको लागि बस्ने धार्मिक मान्यता रहेको छ । यो पर्वलाई पुत्र प्रति मातृत्व झल्कने पर्वका रुपमा चिनिन्छ । विशेषतः आमाले आफ्नो छोराको आरोग्य तथा दीर्घ जीवनका लागि बस्ने गरेको परम्परा रहेको छ ।

यो पर्व सप्तमी, अष्टमी र नवमी तिथिमा मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपवास” र नवमीको दिनलाई “पारण” भनिन्छ ।

जितिया पर्वको पुजा आराधना कसरी गरिन्छ ?
विवाहित महिलाहरु सप्तमीको दिन बिहानै उठेर भेला भई नदी, तलाउ, कुवालगायतमा गएर स्नान गर्ने चलन छ । विशेषगरी यो पर्वमा पीनाले स्नान गर्ने चलन छ । मिथिला संस्कृतिअनुसार पीनालाई शुद्व वस्तुको रुपमा लिइन्छ । स्नानपश्चात् भिजेको लुगामा नै नदी तथा तलाउ किनारमा गई घिरौंलाको पातमा भिझेको पीना, तोरीको तेल, पुष्प, धुप र घिरौंलाको फुल, चढाइन्छ । चढाएर बाँकी रहेको तेल आफु र परिवारलाई केशमा लगाइदिने चलन रहेको छ । यसरी तेल लगाएमा आर्शिवाद स्वरुप सुःख, समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । घरमा नै स्नान गर्दा धेरैले गाईको गोबर र माटो मिसाएर बनाएको कुवामा सिन्दुर र पिठार (चामलको पिठोलाई घोलेर बनाएको घोल) लगाएर घिरौलाको पातमा त्यसैगरी पुजा गर्ने चलन छ । कसैले सिन्दुर–पिठार पनि चढाउँछन् भने कसैले चढाउँदैनन् । यो परम्परा स्थान अनुसार फरकफरक रहेको पाइन्छ ।

कसरी मनाइन्छ ?
सप्तमीको दिन स्नान गरेपश्चात् पुजा आरधना गरेपछि माछ (माछा) र मरुवा (कोदो)को रोटी खाने परम्परा रहेको छ । यस दिन विशेषगरी विभिन्न परिकारको खाना बनाएर सम्भव भएसम्म पारिवारिक भोज गर्ने चलन रहेको छ । भोजनमा पापड–तरुवा (तेलमा तारेको परिकार) को विशेष स्थान रहन्छ ।

तिथिअनुसार यो पटक अष्टमी भदौ २४ गते बुधबारको १० बजेबाट सुरु हुने भएको छ । त्यसैले अष्टमीको दिन राती वा बिहानको मिरमिरे उज्यालोमा स्नान गरी चोखो कपडा लगाएर पुजा गरिन्छ । तुलसीको मठ नजिक पानीले पखालेर वा गोबर–माटोले लिपेर चोखो स्थानमा घिरौंलाको पातमा दही, चिउरा, केरासँगै अन्य फलफुल र मिठाइ पनि चढाइन्छ । त्यसपछि कुल देवतालाई पुज्ने गरिन्छ । पुजा गरिसकेपछि पहिले घरको छोरालाई ढोग्न लगाएर त्यसपछि घरका वाँकी सदस्यलाई ढोग्न लगाइन्छ । चढाएको दही चिउरा सवैलाई प्रसादको रुपमा खान दिइन्छ । अष्टमीको पुरा दिन निराहार व्रत बस्ने गरिन्छ । नवमी तिथि लागेसँगै नुहाएर आफ्नो घरका देवीदेउतालाई पुजा गरेर घिरौंलाको पातमा केराउ, फलफुल, तुलसीको पात, सक्खर आदि चढाएर पारण सम्पन्न गरिन्छ ।

जितिया पर्वको किम्बदन्ती
राजा शालीबहानको राज्यमा एक महिलाका सात छोरालाई दैंत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याएको किम्बदन्ती रहेको छ । त्यस दिनदेखि शालीबहानलाई “जिमतुवाहन” नामाकरण गरी राजाको सम्झनामा मैथिली महिलाहरुले यो पर्व मनाउन सुरु गरेकाले यो ब्रत सुरु भएको पौराणिक कथन छ ।

यस पर्वको ब्रत बस्नुको मुख्य आशय छोराको दीर्घायु र स्वास्थ्यलाभको कामना हो । त्यसैले यो पर्वलाई छोराप्रति आमाको मातृत्व झल्काउने पर्वको रुपमा समेत लिन सकिन्छ ।

प्रतिक्रिया