शुक्रबार, वैशाख ७, २०८१

कोरोना भाइरसको संकटमा गर्भवती महिलाको स्याहारसुसार अत्यन्तै आवश्यक

नेपालखोज २०७७ असार ७ गते १९:५९

‘वल्र्डोमिटर’का अनुसार कोरोना विश्व महामारीका कारण वि.स २०७७ साल असार ५ गते साँझसम्ममा कोरोना भाइरसबाट विश्वमा ८५ लाख ७८ हजार २८३ जना सङ्क्रमित भइसकेका छन् भने ४ लाख ५६ हजार २८६ जनाले ज्यान गुमाउनु परेको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या ७ हजार ८४८ पुगेको भने कोरोनाबाट २२ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसले अहिले विकसित भनिने राष्ट्रहरूलाई पनि त्रसित बनाइरहेको अवस्था छ । आर्थिक रुपमा सशक्त राष्ट्रहरूसमेतले आफ्ना नागरिकहरूलाई उचित सुरक्षा दिन सकिरहेका छैनन् । हाम्रो जस्तो आर्थिक रुपमा विपन्न मुलुकहरूको अवस्था त नाजुक नै छ । यस्तो विषम परिस्थितिमा स्वस्थ्य मानिसहरूको जीवन त खतरापूर्ण छ भने रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूलाई कोरोना सङ्क्रमण हुने सम्भावना झनै बढी हुन्छ ।

उनीहरूको अवस्था वास्तवमै जोखिमपूर्ण छ । सामान्यतया बालबालिका, वृद्घवृद्घा, दीर्घरोगी, गर्भवती तथा सुत्केरीहरूमा शरीरको रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा अन्य व्यक्तिहरूमाभन्दा कम हुन्छ । त्यसैले कोरोना सङ्क्रमणकालमा गर्भवती र सुत्केरी महिलाको उचित स्याहारसुसार गर्नु अत्यावश्यक छ । यिनै विषयवस्तुमा केन्द्रित रही यस आलेख तयार पारिएको छ ।

नेपालमा अझै पनि वर्षेनी गर्भावस्था अथवा सुत्केरी हुँदा मृत्यु हुने आमाको सङ्ख्या धेरै नै छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा त्यो वर्ष प्रतिलाख जीवित शिशु जन्मदा २ सय ३९ आमाको मृत्यु भएको पाइयो । त्यस्तै, स्वास्थ्य विभाग, परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ८० महिलाहरूले सुत्केरी अवस्थाको जटिलताको कारण ज्यान गुमाउनु परेको थियो ।

परिवार कल्याण महाशाखाका अनुसार लकडाउन पछि मात्रै ३१ महिलाले गर्भवती र सुत्केरी अवस्थाको जटिलताकै कारण ज्यानगुमाई सकेका छन् । गर्भवती र सुत्केरी महिलाहरूको मत्यु हुनुका कारणहरूमा रक्तश्राव, उच्चरक्तचाप र सङ्क्रमण पाइएको छ ।

सामान्य अवस्थामा त सुत्केरी गराउने महिलाहरूको अवस्था जटिल थियो भने कोरोना सङ्क्रमणकोे महामारीले यसलाई अझै जटिल बनाइदिएको छ । बन्दाबन्दीका कारण गर्भवती महिलाहरू नियमित स्वास्थ्य जाचँ गर्न जान सकिरहेका छैनन् । गाउँघरमा भौगोलिक कठिनाईका कारण स्वास्थ्यसंस्था टाढा हुनु र स्थानीय स्तरमा दक्ष स्वास्थ्यकर्मी नहुनाले गर्भवती महिलाहरू जोखिम मोलेर घरमै बच्चा जन्माउन बाध्य छन् ।

अर्कोतर्फ, कारोनाको त्रासका कारण शहरबजारका कतिपय ठूला अस्पतालहरूले बिरामी लिन मानिरहेका छैनन् । स्वास्थ्यसंस्थामा कोरोनाबाट सङ्क्रमण हुने त्रासले उपचारको लागि मानिसहरू अस्पताल जान डराएका छन् । अस्पताल जानै चाहेमा पनि सवारी साधन नपाएर गर्भवती महिलाले बाटोमै ज्यान गुमाउनु परेको अवस्था छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु भएकी पहिलो सङ्क्रमित महिला नवसुत्केरी भएकाले पनि होला गर्भवती र सुत्केरी महिलामा कोरोनाको त्रास झनै बढेको देखिन्छ ।

बन्दाबन्दीले गर्दा सवारी साधन कम चलेका छन् । सार्वजनिक यातायात त अहिलेसम्म पनि चल्न सकेका छैनन् । अधिकांश सरकारी अस्पतालहरू कोरोना भाइरससम्बन्धी उपचारमा केन्द्रित हुँदा ती अस्पतालहरूले अन्य बिरामीहरूलाई, विशेषतः गर्भवती महिलाहरूलाई आवश्यक सेवा दिन सकेका छैनन् । गर्भवती महिलाहरूले नियमित रुपमा खानुपर्ने आईरनचक्की र क्याल्सियमचक्की पाउन कठिनाई भएको छ ।

दूर्गम क्षेत्रमा यातायाताको अभावका कारण आवश्यक औषधी पु¥याउन सकिएको छैन । त्यस्तै, यातायातकै कारण खाद्यवस्तु ओसारपसारमा समस्या परेकोले पौष्टिक आहार व्यवस्थापनमा समस्या परेको छ । गर्भावस्था र सुत्केरी अवस्था अत्यन्तै संवेदनशील हुन्छ । गर्भवती भएको बेला महिलाहरूमा रोगसँग लड्ने क्षमता अरुबेलामा भन्दा कम हुन्छ । तेस्तो अवस्थाका महिलाहरूमा कोरोना सङ्क्रमण भएमा ज्यानै जानसक्ने खतरा हुन्छ । गर्भवती र सुत्केरी महिलाहरूमा कोरोना भाइरसको त्रास हुँदा उनीहरू मानसिक रुपमा पनि कमजोर भएका हुन्छन् । त्यसकारण कोरोना संकटमा गर्भवती महिलाको यथोचित हेरचाह गर्नु अति आवश्यक छ ।

गर्भवती अवस्थामा देखिने खतराका सूचकहरूमा शरीर काप्नु वा शरीरमा कम्पन हुनु, योनीबाट रगत वा पानी बग्नु, हातखुट्टा र अनुहार सुन्निनु, टाउको धेरै दुख्नु, तल्लो पेट धेरै दुख्नु, रिँगटा लाग्नु र आँखा धमिलो देख्नु, आदि पर्दछन् । त्यसैगरी, घाँटी दुख्नु, सुख्खा खोकी लाग्नु, श्वास र्फेन गाह्रो हुनु वा श्वास बढ्नु, कमजोर हुनु जस्ता लक्षणहरू भएमा गर्भवती महिलाको अवस्था खतरापूर्ण छ भनी बुझ्नुपर्छ र यस्तो लक्षण भएकाहरूलाई तुरुन्तै स्वास्थ्यसंस्था लैजानु पर्दछ । यस्तो लक्षण देखिएमा जसरी पनि नजिकैको स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मीसँग आवश्यक समन्वयगरी आधारभूत स्वास्थ्यसेवाको पहुँचका लागि तत्काल व्यवस्था मिलाउनु जरुरी हुन्छ ।

नियमित गर्भजाँचमा रहेकाहरूले आफूलाई नजिक पर्ने स्वास्थ्यकर्मीको संम्पर्कमा रही नियमित रुपमा प्रयोग हुने औषधीलाई निरन्तरता दिनुका साथै सुत्केरी हँुदा चाहिने अति आवश्यक सामग्रीहरू पहिले नै तयारी अवस्थामा राख्नुपर्छ । कोरोनाको सङ्क्रमणबाट बच्न भिडभाडमा वा जमघटमा नजाने र घरमै पनि भौतिक दुरी कायम गर्नुपर्छ । पटकपटक साबुन पानीले २० सेकेन्डसम्म हात धुने गर्नुपर्दछ । आफ्नो घर वरपर पाइने हरिया सागपात, पहेँला फलफुल र प्रशस्त मात्रामा झोलिलो कुरा खानुपर्दछ । गर्भवती महिला भएको घरपरिवारले छरछिमेकमा आफूलाई जतिबेला पनि सहयोगको आवश्यक पर्नसक्नेबारे सचेत गराई सहयोगको लागि सबैलाई अनुरोध गरी तयारी अवस्थामा राख्नुपर्छ । आपूmलाई उपयुक्त हुने सवारी साधनको व्यवस्था पनि गरिराख्नुपर्छ ।

अहिलेको विषय अवस्थामा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकाहरूको जिम्मेवारी महत्वपूर्ण हुन्छ । विशेषगरी गाउँघरमा कुन महिला गर्भवती छन् भन्नेबारे थाहा पाउने भनेको महिला स्वास्थ्य स्वयंसेविकाले नै हो । उनीहरूले आफ्नो सम्पर्कमा रहेका गर्भवती महिलाको स्वास्थ्य हेरचाहका लागि नियमित सम्पर्कमा रहनु पर्छ । आ–आफ्नो ठाउँमा भएका नयाँ तथा नियमित स्वास्थ्य जाँचमा आउने गर्भवती महिलाहरूलाई निरन्तर रुपमा स्वास्थ्यसम्बन्धी सल्लाह दिनुका साथै ती महिलाहरूलाई बेलाबेलामा मनोसामाजिक सहयोग प्रदान गर्नुपर्छ ।

स्थानीय सरकारले समुदायको सहज पहुँच भएको सञ्चार माध्यमबाट कोभिड–१९ को रोकथामबारे जनचेतना जगाउनु पर्दछ । उपचारका सम्बन्धमा स्थानीय स्वास्थ्यसंस्थाको क्षमताभन्दा थप सेवा चाहिएमा ढिला नगरीकनै बिरामीलाई अस्पताल पठाउन सहयोग गर्नुपर्छ । अहिले शैक्षिक संस्थाहरु बन्द भएकोले जनस्वास्थ्य विषय अध्ययनरत सैयौँ विद्यार्थीहरु आ–आफ्नो घरमा छन् । यतिबेला उनीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । अध्ययन सकेर जागिर खाएपछि मात्र सेवा दिने हो भनेर सोँच्नु हुँदैन । जो, जहाँ छन् ती सबैले आफ्नो समुदायमा कोरोना भाइरसबारे सचेतना जगाउन र यस्तो अवस्थामा गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यबारे ज्ञान र सीप बढाउन सहयोग गर्नुपर्छ ।

यसरी घर परिवार, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, राजनैतिक कार्यकर्ता, स्थानीय सरकार सबैले गर्भवती र सुत्केरी महिलाहरूको उचित हेरचाह गर्न सके भने कोरोनाका कारण पैदा भएकोे असहज अवस्थामा पनि उनीहरुको ज्यान जोगाउन सकिन्छ । उचित स्वास्थ्य सेवा पाउनु गर्भवती तथा सुत्केरी महिलाहरूको अधिकार भएको हुँदा उनीहरूको स्वास्थ्यसम्बन्धी अधिकार सुरक्षित राख्नु हामी सबैको कर्तव्य पनि हो । (लेखिका नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), जोरपाटीमा अध्ययनरत विद्यार्थी हुन्)

प्रतिक्रिया