देशभर वर्षा र बाढी : तीन जनाको मृत्यु, एक बेपत्ता
काठमाडौँ । देशका विभिन्न ठाउँमा बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। दाङ र कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीमा एक बालक वेपत्ता छन्।
प्रहरीका अनुसार दाङमा राप्ती नदीले बगाउँदा गढवा गाउँपालिका–२ का ३५ वर्षीय दिनदयाल चौधरीको मृत्यु भएको छ। खेत रोपेर घर फर्किने क्रममा चौधरीलाई आइतबार बेलुका राप्ती नदीको बाढीले बगाएको ५ नं। प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
यस्तै कपिलवस्तुमा पानीमा डुवेर थप दुई बालबालिकाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–२ बर्गदवामा सात वर्षीया माया चौधरीको माछा पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै कपिलवस्तु नगरपालिका–३ का जयकरण देवकोटाको पाँच वर्षीय छोराको घर नजिकै खेतको खाल्डोमा डुबेर मृत्यु भएको छ।
अर्घाखाँचीमा खोला तर्ने क्रममा खोलाले बगाउदा बेपत्ता भएका पाणिनी–४ का सन्तबहादुर नेपालीको १३ वर्षीय छोरा पुजन नेपाली अझै बेपत्ता छन्।
प्रहरीका अनुसार तीन दिन पहिले पटौटीको खहरे जुकेखोलाले बगाएर बालक बेपत्ता भएका हुन्।
बेपत्ता पुजनको तिन दिन देखी स्थानीय र प्रहरीले खोजिकार्य जारी राखेको खिदिमका प्रहरी प्रमुख कमल रानाले जानकारी दिए।
हिजोदेखिको वर्षाका कारण थुप्रै नदीहरुमा जल सतह बढेको छ। त्यसैगरी विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
प्रतिक्रिया