सामाजिक सञ्जालको प्रयोग गरेर एक करोड बढी ठगी, सातजना समातिए
झापा । सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका पुकार वर्मा, काभ्रेको सिम्थलीका नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् ।
त्यसैगरी, भारतको पश्चिम चम्पारण, बिहार, सेनवरिया घर भइ काठमाडौं टंकेश्वर बस्ने एमडी सर्फराज, पर्साको वीरगन्जका कृष्णप्रसाद साह र सुनील साह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
उनीहरुले सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् ५० लाख रुपैयाँ र १० तोला सुन चिट्ठा परेको भन्दै प्रलोभन देखाएर ठगी गरेको पाइएको छ । ‘महँगो चिट्ठा परेको र उक्त पुरस्कार लिन करवापतको रकम तिर्नू’ भन्दै विभिन्न खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
यो समूहले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ । उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रतिक्रिया