‘सामाजिक सञ्जाल र एप जथाभावी प्रयोग नगर्नू’

नेपालखोज २०७७ असार १२ गते २१:१३

काठमाडौं – सरकारलाई सामाजिक सञ्जाल र एप जथाभावी प्रयोग नगर्न प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले निर्देशन दिएको छ । अब नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै सामाजिक सञ्जाल र एप प्रयोग गर्न पाइनेछ ।
शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग समितिले छलफल गरेको थियो ।
समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ, ‘नेपालभित्र प्रयोग गरिने एप तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकारी निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ ।’
नेपाल सरकारका विभिन्न वेबसाइट र सूचना प्रविधि सेवा प्रदायकहरुको सेक्युरिटी अडिट अनिवार्य रुपमा गर्ने व्यवस्था मिलाउन निर्देश गरेको छ । सरकारी डोमेन नेम निजी क्षेत्रले दर्ता गर्दै आएको भन्दै समितिले यस्तो काम सरकारी निकायबाटै गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
सरकारी सूचना, कागजपत्र, एवं अन्य जानकारीहरु आधिकारिक इमेल र वेबसाइटबाट मात्र प्रयोग हुने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देश गरेको छ ।
केही दिनअगाडि जुम मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्तव्य दिँदै गर्दा अश्लिील भिडियो आएको थियो । उक्त घटनाले नेपालको साइबर सुरक्षा कति सुरक्षित छ भन्ने प्रश्न उठेको भन्दै विकास समितिमा कुरा उठेको थियो ।

प्रतिक्रिया