बिहीबार, जेठ ९, २०८२

रुप फेर्दै कोरोना, थपिन थाले नयाँ लक्षण

नेपालखोज २०७७ असार १३ गते ७:२२

काठमाडौं– विश्वभर कोरोना संक्रमण फैलिएसँगै रोगसँग लड्ने धेरै जुक्ति प्रयोग हुँदै आएका छन् । प्राय मानिसले हदैसम्मको सावधानी पनि अपनाइरहेका बेलामा कोरोना (कोभिड–१९)ले पनि आफ्नो रुप परिवर्तन गर्न थालेको छ ।
सुरु संक्रमितमा जस्तो लक्षण देखिन्थ्यो अहिले त्यो नहुन पनि सक्छ । पहिले घाँटी सुख्खा हुने, श्वास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने हुन्थ्यो । रुप परिवर्तन गरेको कोरोनाले अहिले कान कम सुन्ने, टाउको दुख्ने, पेट दुख्ने, जिब्रोले स्वाद थाहा नपाउने, जीउ दुख्ने तथा अनावश्यक थकाई लाग्ने  लक्षण देखाउन थालेकाे छ ।
हुनत सवै संक्रमितमा एउटै लक्षण देखिएको भने छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्– ‘नयाँ लक्षण देखिएपछि स्वास्थ्यकर्मीमाथि चुनौति थपिएको छ, हामीले ‘क्लिनिकल’ विश्लेषण सुरु गरिसकेका छौं । सवै अस्पतालमा लक्षण उल्लेख गर्ने फारम पठाइएको छ । फारम संकलन गरेपछि अझै कस्ता–कस्ता लक्षण थपिए भन्ने जानकारी आउँछ । अनि साझा लक्षण सार्वजनिक हुन्छ ।’
डा. राजभण्डारीले उच्च रक्तचाप, मृगौला, मधुमेह, क्यान्सर तथा दीर्घरोगीमा कोरोना संक्रमण देखिए विशेष सावधानी अपनाउनुपर्ने बताए । उनले थपे– ‘विदेशमा गरिने उपचारमा प्रयोग गरिने औषधि नेपालमा चलाइएको छैन, साह्रै गाह्रो भएकालाई आइसीयूमा राखिन्छ, साधारण भए सिटामोल दिएर खानपान ध्यान दिइन्छ ।’

प्रतिक्रिया