आयो सलह, थाल ठटाएर हटाउने प्रयास, विज्ञ भन्छन्- आत्तिनुपर्ने अवस्था छैन
काठमाडौं– शनिबार बिहान ६ बजेदेखि सर्लाहीको नवलपुरमा सलह किरा देखा परेको छ । यो किरा विशाल झुण्ड बनाएर बालिनालीमा पस्छ । यसले बालिनालीको बोटसमेत खाएर बारी नै रित्तो बनाइदिन्छ । यसलाई अनिकाले किराका रुपमा पनि चिनिन्छ ।
‘अहिले बदाम अनि धानका बोटहरु खाँदै छ । सम्वन्धित निकायमा मैले खबर गरिसकेको छु । विषादी छर्कने र थाल बजाएर किरा भगाउने प्रयास गरिरहेका छौं ’ तेलबाली अनुसन्धान कार्यक्रम, सर्लाहीका प्रमुख वीपी यादवले भने । सर्लाहीलगायत बारा, पर्सा र सिमरामा पनि सलहले आक्रमण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले पानी परिरहेको बेला सलह किरा नेपाल भित्रिएको पुष्टि गरे ।
नेपालमा आएका सलह झुण्डबाट छुट्टिएर आएका हुनाले धेरै क्षति गर्न नसक्ने कीट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले बताए । ‘प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने पहेँलो सलह नदेखिएको र यसको प्रजनन गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले धेरै क्षति हुँदैन, आत्तिइहाल्नुपर्ने अवस्था छैन’ उनले भने ।
प्रतिक्रिया