बुधबार, वैशाख १२, २०८१

मलाई हटाउँछु भनेर कसैले नसोचे हुन्छ– प्रधानमन्त्री

नेपालखोज २०७७ असार १४ गते १७:१३

काठमाडाै‌‌ – राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतले आफू विरुद्ध षड्यन्त्र गरेको प्रधानमन्त्री केपी ओलीले आरोप लगाएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रियताको विषयमा बोल्ने प्रधानमन्त्रीलाई हटाउँछु भनेर नसोच्न सुझाव दिएका छन् ।

‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस भन्ने अभिव्यक्ति दिएका छन् ।’

नेकपाको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी गरेपछि रुष्ट बनेको भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको प्रधानमन्त्रीले आरोप लगाए ।

सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन नभएको भन्दै उनले म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’

ओलीले आफूले नक्सा सच्याएकै नाममा हटाउने चलखेल भएको भन्दै त्यो नसोच्न चेतावनी दिएका हुन् । उनले दूतावास र होटलमा चलखेल बढेको खुलासासमेत गरेका छन् ।

‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

प्रतिक्रिया