बिहीबार, जेठ २, २०८२

सलह भित्र्याउने हावा साेमबारबाटै हट्ने सम्भावना

नेपालखोज २०७७ असार १५ गते ७:२१

काठमाडाैँ । बालीनाली सखाप पार्ने फट्यांग्रा जातका कीरा सलह भित्रिएपछि अहिले नेपालमा हल्लीखल्ली मच्चिएको छ । शनिबार बिहानैदेखि सर्लाही, बाराका विभिन्न स्थानमा देखापरेका सलहको हुल अहिले पहाडका विभिन्न जिल्लामा पुगिसकेका छन् ।

सुरुमा यो कीरा नेपाल आउँदैन भनेर निष्कर्ष निकालेका कृषिसम्बद्ध सरकारी अधिकारी पनि आफ्नो अनुमान फेल खाएपछि यतिबेला चकित परेका छन् । तर उनीहरूको दाबी के छ भने मनसुनमा सामान्यतया पूर्वबाट पश्चिमतर्फ हावा चल्ने भएका कारण आफूहरूले त्यस्तो (सलह नआउने) अनुमान गरेको तर केही दिनयता अचानक दक्षिण–पश्चिमबाट उत्तर–पूर्व हावा चलेकाले सलह भित्रिएका हुन् । विज्ञका अनुसार यो कीरा हावाको गतिसँगै उड्छन् ।

यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पनि आइतबार विशेष बुलेटिन जारी गरेको छ । शनिबार नेपालका केही जिल्लामा सलह आएको र त्यो आउनुमा मौसमको महत्वपूर्ण भूमिका रहने भएकाले विशेष बुलेटिन जारी गरिएको महाशाखाले जनाएको छ ।

‘नेपालमा विगत २-३ दिनदेखि मनसुनको अरेबियन सागरबाट वहने पश्चिमी-दक्षिण-पश्चिमी वायुको प्रभाव छ साथै मनसुन न्यून चापीय रेखा नेपालनजिक छ,’ विशेष बुलेटिनमा भनिएको छ, ‘आज (आइतबार) दक्षिण-पश्चिमी वायुको प्रभाव रहने र सोमबारबाट भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना छ।’ यसको अर्थ सोमबारदेखि कृषि विज्ञले भनेको सलह भित्र्याउने पश्चिमी वायुको प्रभाव नेपालमा नरहने देखिएको हो । याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया