शनिबार, फागुन १९, २०८०

सरकार ढाल्न षड्यन्त्र गर्नेलाई किन देश निकाला गर्नुहुन्न ? – डा. बाबुराम भट्टराई

नेपालखोज २०७७ असार १६ गते १७:०९

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भनेर प्रश्न गरेका छन् ।

जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा गरेको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले देश गम्भीर समस्यामा भएको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको बताए ।

हालै मात्र भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप प्रधानमन्त्री ओलीले लगाएका थिए ।

डा. भट्टराई प्रश्न गर्छन्– ‘यदि त्यस्तो षड्यन्त्र गरेको भए किन देश निकाला नगरेको त ?’ कहिले पार्टी फुटाउने विधेयक ल्याएको त कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर हाँसोका पात्र भएका प्रधानमन्त्री अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्रमा लागेको भन्न थालेको उनले बताए ।

डा. भट्टराई थप्छन्– ‘त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?’

प्रतिक्रिया