शुक्रबार, वैशाख ७, २०८१

सुदूरपश्चिममा थप ११९ जना कोराना सङ्क्रमित

नेपालखोज २०७७ असोज २१ गते २१:०४

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज ११९ जना कोभिड—१९ का सङ्क्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डोटी जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । आज थपिएका समेत प्रदेशमा हालसम्म कूल सात हजार ७८० जना सङ्क्रमित पुगेका छन् ।

मन्त्रालयको तथ्याङ्ककाअनुसार सक्रिय सङ्क्रमित बिरामी आज एक हजार ७४ जना छन् । असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आजसम्म यो रोगबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

पछिल्ला दिनमा कोभिड—१९ का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई खासगरी बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले शहरी क्षेत्रमा सर्वसाधारणको भीड बढ्नुका साथै होमआइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए ।

कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलाली जिल्लाका नौ जना, अछाम, बझाङ र बाजुराका दुई—दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक—एक जनाको सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षकसहित आज २२ जना प्रहरीमा कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै कार्यालयका ४६ जना प्रहरी सङ्क्रमित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए । ‘‘सङ्क्रमित सबै प्रहरी आइसोलेशनमा हुनुहुन्छ, बिष्टले भने , ‘‘प्रहरी उपरीक्षक भने आफैँ निवासको होमआइसोलेशनमा छन् ।”

प्रतिक्रिया