आइतबार, असार २२, २०८२

मागियो प्रधानमन्त्रीको राजीनामा, आफ्नै अभिव्यक्तिले ओली संकटमा

नेपालखोज २०७७ असार १७ गते ९:०८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरे ।
नेपालका नेताहरुलगायत भारतले पनि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति केही दिनअघि ओलीले दिएका थिए । सोही अभिव्यक्तिका कारण उनी संकटमा परेका छन् ।

ओलीले मदन भण्डारी जन्मजयन्तीको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गरेका थिए । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उनले बताएका थिए ।

अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको अध्यक्ष प्रचण्डले बताए । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न नपाएको भन्ने सन्देश दिएको तथा पार्टीकै नेताहरु पनि अविश्वासको पात्र देखिएको बताए । साथै, विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे छलफल गर्नुपर्ने भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको विषय पनि उठाए । झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको र कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको उल्लेख गर्दै उनले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताए । उनले भने– ‘ओलीबाट सरकार र पार्टी दुबै चलेन ।’

जवाफमा प्रधानमन्त्रीले भने – ‘यो कुण्ठा हो, पार्टीका नेताहरु अत्यन्त पूर्वाग्राही भएर लाग्नुभएको छ । भारतले हस्तक्षेप गर्यो भन्दा किन टाउको दुखाउनुपर्ने ? तपाईहरु गुटबन्दी गर्नुहुन्छ, उता(भारत)का मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चावन्दी भइरहेको छ भनेर समाचार दिन्छन्, मैले प्रष्ट पारिरहनु पर्दैन होला । तपाइलाई कार्यकारी अध्यक्ष भनिएकै छ, अनि किन मन खुम्च्याउनु हुन्छ ?’
नेकपा एमाले दल दर्ताको निवेदनबारे भने आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बताए । उनले बैठकमा भनेका भने, ‘दल कसले किन दर्ता गर्न खोजेको हो, मलाई थाहा छैन । मचाहिँ नेकपाकै मान्छे हुँ, यो पार्टीको अध्यक्ष नै हुँ ।’

वरिष्ठ नेता झलनाथ खनालले स्पष्ट रुपमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए । उनले भने– ‘सरकार ढाल्न भारतले खोजेको र पार्टीभित्रैका नेता साथ रहेको भनेर के प्रमाणित गर्न खोज्नुभएको हो, के हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? अब तपाई सरकार र पार्टी दुवै जिम्मेवारीबाट हट्नुपर्छ । पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उनले बैठकमा भने, ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।’

वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति खनिएका थिए । उनले भने– ‘ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो, तपाइमा आफू मालिक बनेर अरुलाई दास ठान्ने प्रवृत्ति छ, पार्टी र सरकारबाट राजीनामा दिनुस् ।’
अर्का नेता बामदेव गौतमले उहाँले आफ्नो कमजोरी कहिल्यै आत्मसात गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको बताए । गौतमले बैठकमा भने, ‘उहाँको अभिव्यक्तिका कारण नेतृत्वमा वस्नै मिलेन, तपाईबाट पार्टी र सरकार दुवै चल्न सकेन, यो थाहा हुँदाहुँदै पनि किन बस्नु, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए । भने, ‘ त्यस्तो लागेको भए पार्टीमा छलफल गरेको भए हुन्थ्यो । राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपथ्र्यो ।’

स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्टलगायतले बोलेका थिए । सबै नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गलत भएको वताएका छन् ।

प्रतिक्रिया