बिहीबार, माघ १०, २०८१

कोरोना महामारीमा एम्बुलेन्स चालकको पीडा

नेपालखोज २०७७ असार १८ गते ६:५५

काठमाडौँ । अहिले नेपाल मात्र होइन सिंगो विश्व नै कोरोना भाइरसका कारण त्रासमय अवस्थाबाट गुज्रिरहेको छ । यसबाट संसारका कोही पनि अछुतो रहन सकेका छैनन् । विश्वका मै हुँ भन्ने शक्तिशाली राष्ट्रलाई पनि यसले आफ्नो तागत देखाइदिएको छ । चिकित्सा विज्ञानका हस्तिहरु पनि यसबाट आजित बने ।

Advertisement

सिंगो विश्व नै यसबाट प्रभावित भइरहँदा एम्बुलेन्स चालक यसबाट झनै प्रभावित भएको देखिन्छ । आफ्नो ज्यानलाई जोखिममा राखेर दिनरात बिरामीलाई अस्पतालसम्म पुर्याउन मद्दत गर्ने एम्बुलेन्स चालक यतिबेला समाजमा अपहेलनाको सिकार बन्न थालेका छन् ।

देशभरका अधिकांश एम्बुलेन्स चालक यतिबेला समाजले हेर्ने दृष्टिकोणप्रति चिन्तित बनेका छन् । एम्बुलेन्स चालकले अस्पतालसम्म पुर्याएका कतिपय बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुमा संक्रमण भए या नभए पनि समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ ।
यतिबेला आफुहरु माथि धेरै दुव्र्यवहार हुने गरेको कैलालीको लम्की चुहा नगरपालिकास्थित नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका एम्बुलेन्स चालक इन्द्र शाहले बताए ।

उनले भने, ‘यतिबेला हामीहरु माथि एकदमै दुव्र्यवहार भइरहेको छ, मान्छे एम्बुलेन्सलाई छुन त के एम्बुलेन्सको नजिक पनि जाँदैनन्, हामीलाई कोरोना बोक्ने मान्छेको नजरले हेर्छन् ।’ आफुहरुलाई होटलदेखि पेट्रोल पम्पमा तेल भर्न जादा पनि टाढा बसेर तेल भर्न आग्रह गर्ने गरेको उनले सुनाए ।

एम्बुलेन्स चालकलाई कोरोनासम्बन्धी सामान्य ज्ञानदेखि उनीहरुलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीसम्म राज्यले उपलब्ध नगराएर राज्यले आफुहरु माथि विभेद गरेको संयुक्त एम्बुलेन्स चालक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले बताए । विश्व कोरोना महामारीसँग जुधिरहेको अवस्थामा एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिम मोलेर २४ घण्टा बिरामीको सेवामा खटिरहेको भएपनि सरकारले उनीहरुको सेवा सुबिधाको बारेमा सोच्न नसकेको उनले गुनासो गरे ।

झन् उल्टो २४ घण्टासम्म एउटा चालकले सेवा दिइरहेको बेला त्यहाँ समाजले उसलाई पानीसम्म पिउन नदिएर बहिष्कार गरेको उनले बताए ।
यो विषम परिस्थितिमा हरेक क्षेत्रको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व छ । यस्तो महामारीको बेला दिनरात नभनी बिरामीको सेवामा खटिएका एम्बुलेन्स चालकको कोरोनासँग जुध्न भइरहेका प्रयासमा उत्तिकै योगदान छ । आफ्नो ज्यानको ख्यालै नगरी बिरामी ओसार्न खटिरहेका उनीहरुलाई समाजमा विभिन्न शंका तथा अपहेलनाको दृष्टिकोणले हेर्दा उनीहरुको मनोवल घट्न गइ भोली कुनैपनि दुर्घटनाको सामना गर्नुपर्ने परिस्थिति सिर्जना हुनसक्छ । तसर्थ, कोरोना महामारीको यो विषम परिस्थितिमा उनीहरुलाई घृणा गरेर होइन माया गरेर पुरस्कृत गर्न जरुरी छ ।

प्रतिक्रिया